काठमाडौं, २१ मंसिर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिईभिटि)ले जनआकाक्षा अनुरुप बजारमाग धान्ने खालका दक्ष जनशक्ति उत्पानका लागि आफ्नो पाठ्यक्रम परिमार्जको कार्य अगाडि बढाएको छ । स्थापनाकाल देखि नै आधारभूत तथा मध्यमस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्दै आईरहेको सिटिईभिटिले पाठ्यक्रम सुधारका लागि श्रम बजारको माग बमोजिमका सीप तथा दक्षताहरू समावेश गरी सैद्धान्तिक विषयको पाठ्भारलाई सरल र व्यावहारिक बनाउने र प्रयोगात्मक अभ्यासलाई जोड दिने गरी पाठ्यक्रम परिमार्जन प्रकृयाको शुरूआत गरेको हो ।
डिप्लोमा कृषि तर्फका कार्यक्रमहरूलाई सेमेष्टेर प्रणालीबाट वार्षिक प्रणालीमा परिमार्जन गर्ने कार्य भईरहेको विज्ञप्तिमा मार्फत जनाईएको छ । साथै प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको राष्ट्रिय पाठ्यक्रम प्रारूप निर्माण एवं क्रेडिट ट्रान्सफर सम्बन्धी व्यवस्था प्रारम्भ भएको छ।
यस्तै परीक्षा प्रणाली सुधारका लागि प्रवेश परीक्षादेखि शैक्षिक योग्यताका प्रमाणपत्र वितरणसम्मका कार्यहरू डिजिटल प्रणालीबाट गर्ने व्यवस्था गर्नुका साथै आगामी वर्षदेखि प्रदेश कार्यालयहरूबाटै प्रमाणपत्र वितरण गर्ने कार्यको तयारी समेत भईरहेको परिसद्ले जनाएको छ ।
विभिन्न कार्यक्रममा हालसम्म परीक्षा अनुतीर्ण भएकाहरूलाई एक पटकका लागि विशेष मौका परीक्षाको व्यवस्था गरिने छ। परीक्षा समाप्त भएको मितिले बढीमा ३ महिना भित्र नतिजा प्रकाशनको सुनिश्चितता हुने गरी कार्य प्रारम्भ पनि भएको छ ।
परिषद् कार्यलयबाट सम्पादन गरिने क्रियाकलापहरूमा थप पारदर्शिता कायम गर्नका लागि परिषद्का निर्णय तथा गतिविधिहरू नियमितरूपमा परिषद्को वेबसाइटमा प्रकाशनको व्यावस्था गर्ने पनि जनाईएको छ ।
यस्तै दलित, मुस्लिम, विपन्न र सीमान्तकृत विद्यार्थीहरूका लागि उपलब्ध गराईँदै आएको विशेष छात्रवृत्ति कार्यक्रमका लागि तोकिएका कोटाहरुमा स्वास्थ्य तर्फका कार्यक्रमहरुलाई समेत समावेश गरी भर्ना प्रक्रिया अगाडि बढाइएको छ। आगामी दिनहरुमा स्वास्थ्य तर्फका अन्य कार्यक्रमहरुमा समेत छात्रवृत्ति कोटा बढाउन पहल गरिने सिटिईभिटिले जनाएको छ।
परिषद् अन्तर्गत सञ्चालित प्रतिष्ठानहरुको शुल्क, शैक्षिक संस्थाको भौतिक पूर्वाधार लगायतका बिषयमा परिषद् कार्यालयबाट अनुगमन गरी प्राप्त प्रतिवेदन अनुरुप हुने गरी प्रक्रियाको थालनी भईसकेको छ ।
अनुगमन प्रतिवेदनमा परिषद्को सम्बन्धन÷स्वीकृति सम्बन्धी कार्यविधिले तोके अनुसारको न्यूनतम मापदण्डको सुनिश्चितता पश्चात् सम्बन्धन दिइने पनि जनाईएको छ । सम्बन्धन प्राप्त गरी सञ्चालनमा रहेका कार्यक्रमहरुको शुल्क परिषद्को २०७१ कार्तिक २१ गतेको निर्णयबमोजिम हुने गरी निजी शिक्षालयहरुको भन्दा ३० प्रतिशत कम शुल्क हुने व्यवस्थालाई कडाइपूर्वक लागू गर्ने पनि परिषदले जनाएको छ । परिषद् अन्तर्गतका शिक्षालयहरुमा अध्ययन गर्ने विभिन्न कार्यक्रमका प्रशिक्षार्थीहरुलाई ड्रेस कोडको व्यवस्था गरी कार्यन्वयन गर्नुका साथै सरकारी अस्पतालमा प्रयोगात्मक अभ्यासको सुनिश्चितता हुने गरी परिषद् अन्तर्गतका आंगिक शिक्षालयहरु मार्फत स्वास्थ्य तर्फका कार्यक्रमहरु संचालन गर्न विशेष पहल भइरहेको छ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्मा २०६९ सालदेखि प्रस्तावना पेश भई सम्बन्धन/स्वीकृतिको प्रक्रियामा रहेका संस्थाहरुमध्ये अदालतबाट आदेश भई आएका र सम्बन्धनका लागि आवश्यक पर्ने सम्पूर्ण प्रक्रिया पूरा गरेका संस्था तथा कार्यक्रमहरुलाई परिषद्को मिति २०८१ साउन २२ गते बसेको २०० औं बैठकको निर्णयबाट सम्बन्धन दिने कार्य गरी चिकित्सा शिक्षा आयोगमा मिति २०८१ भदौ ५ र मिति २०८१भदौ ९ गते कोटा निर्धारणका लागि पत्राचार भएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको निर्णयानुसार परिषद् कार्यालयमा मिति २०८१ मंसिर १४ गते कोटा निर्धारण भई शैक्षिक सत्र २०८१÷०८२ का लागि कार्यक्रम संचालन गर्ने गरी निर्णय कार्यान्वयन गर्न लेखी आएकोले सोही बमोजिम पाठ्यक्रमले तोके बमोजिमको पाठ्यभार पूरा गर्ने सुनिश्चितता गरी प्रक्रिया अगाडी बढाइने परिषदले जनाएको छ ।
सिटिईभिटिबाट उत्पादित जनशक्तिलाई रोजगारी तथा स्वरोजारीमा जोड्ने कार्यमा हालसम्म यस संस्थाले उल्लेख्य उपलब्धि हासिल गरेको छ ।