स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै

स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै

  • बुधबार, मंसिर १२, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

वालिङ (स्याङ्जा), १२ मङ्सिरः ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत बिरुवा गाउँपालिका–७ कुसुमभञ्ज्याङस्थित जीवनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले कुखुरापालन गरेका छन् । त्यसबाट उनीहरूले सामान्य खर्चको जोहो गर्दै आएका छन् ।

प्रधानाध्यापक सामबहादुर गुरुङका अनुसार पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका बालबालिकाले विद्यालय परिसरमा नै कुखुरापालन गरेका हुन् । विद्यालय परिसरमा गिरीराज र कोइलरका दुई सय वटा कुखुरापालन गरिएको छ । पढाइको अलावा विद्यार्थीलाई व्यावहारिक ज्ञान, सीप दिनुका साथै विद्यालय तहबाट नै आम्दानीसँग जोड्न यो कार्यक्रमले महत्त्वपूर्ण टेवा पुगेको छ ।

“विद्यालय परिसरमा विद्यार्थीको प्रत्यक्ष रेखदेखमा कुखुरापालन गरिएको छ”, उहाँले भन्नुभयो, “विद्यालय सञ्चालन भएका दिनमा विद्यार्थीले रेखदेख गर्ने भए पनि बिदाका दिनमा भने छुट्टै कर्मचारीको व्यवस्था मिलाएका छौँ ।”विद्यालयमा पालिएको कुखुराले दिने अण्डाबाट विद्यालयमै रहेको ह्याचिङ मेसिनबाट चल्ला उत्पादन गर्ने र बिक्री गरी आम्दानीका रूपमा दाखिला हुने गरेको छ । विद्यालयमा पढाइसँगसँगै सिकेको व्यावहारिक सीपलाई घर गएर पनि विद्यार्थीले उपयोग गर्न सक्ने बनाउन विद्यालयले चल्ला उत्पादन गरी उपलब्ध गराउँदै आएको छ ।

विद्यार्थीले घरमा चल्ला लगेमा नयाँ चल्ला उत्पादन भएपछि साँवास्वरुप फिर्ता गर्ने र बाँकी रहेका चल्ला वा तिनले दिएका अण्डा आफैँले बिक्री गर्न पाउने व्यवस्था विद्यालयले मिलाएको छ । “विद्यार्थीले विद्यालय वा घरमा पालेका कुखुरा, चल्ला तथा अण्डा बिक्री गर्न विद्यालयले सहजकर्ताको भूमिका निर्वाह गर्दै आएको छ”, उहाँले भन्नुभयो, “विद्यार्थीले आफँै बिक्री गर्न पनि सक्ने र बिक्री नभएको खण्डमा विद्यालयले बजारीकरण गर्ने उल्लेख भए तापनि हालसम्म विद्यार्थी स्वयंबाट सहज तरिकाले बिक्री भइराखेको छ ।”

चालु शैक्षिकसत्रसँगै थालिएको यो अभियान निकै प्रभावकारी ढङ्गले अगाडि बढेको दाबी प्रधानाध्यापक गुरुङको छ । यस अभियानलाई प्रभावकारी ढङ्गले अगाडि बढाउँदै विद्यार्थीलाई सीपसँगै आर्थिक उपार्जनसँग जोड्न समन्वयकारी भूमिका निर्वाह गर्न स्रोत शिक्षकको व्यवस्था मिलाएको उहाँले बताउनुभयो ।

विद्यार्थीले घरमा पालेका कुखुराको आम्दानी आफैँले किताब, कपी, कलमलगायत शैक्षिक सामग्री खरिदमा उपयोग गर्न सक्ने भएकाले परिवारमा आर्थिक बोझ कम हुने दाबी उहाँको छ । विद्यालयमा पालिएका कुखुरा, चल्ला तथा अण्डा बिक्रीबाट आएको रकम एकमुष्ट सङ्कलन गरी विद्यार्थीलाई दामासाहीले वितरण गरिन्छ ।

विद्यालयले मौरीपालन, च्याउखेती, सिलाइबुनाइ, वेल्डिङजस्ता व्यावहारिक सीप विद्यार्थीलाई सिकाउँदै आएको छ । साथै धान, मकै, कोदोलगायत खेती गरेर उत्पादित अन्न विद्यालय समयमा खाजाका रूपमा पनि प्रयोग गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी