काठमाडौं, मंसिर ११ । पर्यटकीय नगरी सौराहामा आन्तरिक र बाह्य पर्यटक प्रवर्द्धनका लागि पुस दोस्रो साता १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ।
क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपालको सह आयोजनामा पुस ११ देखि सुरु हुन लागेको महोत्सव पुस १५ सम्म चल्नेछ। क्षेत्रीय होटल संघ नेपाल चितवनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पौष ११ देखि १५ गतेसम्म सौराहामा चितवन हात्ती तथा पर्यटन महोत्सव आयोजना गर्न लागेको जनाएको हो।
२०५५ सालबाट सुरु भएको हात्ती महोत्सव कोराना महामारीको प्रकोपका कारण तीन वर्ष रोकिएको थियो। कोरोना महामारी र आर्थिक मन्दीले थलिएर तंग्रिँदै गरेको सौराहाको पर्यटन व्यवसायलाई अझै माथि उकास्न हात्ती महोत्सव पुनः हुन लागेको क्षेत्रीय होटल संघ चितवन सौराहाका महासचिव गुणराज थपलियाले जानकारी दिनुभयो ।
महोत्सवमा सरकारी स्वामित्वमा रहेका गरी ८० वटा हात्ती सहभागी हुनेछन्। ५ दिनसम्म सञ्चालन हुने महोत्सवमा जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानी घोषणा कार्यक्रम, हात्तीको श्रृंगार प्रतियोगिता, हात्ती वनभोज, हात्तीको फुटबल पेनाल्टी प्रतियोगिता, हात्ती म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिकास्तरीय डुंगा रेस प्रतियोगिता हुनेछ।
पत्रकार सम्मेलनमा बोल्दै होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाहले चितवन सौराहा पुग्ने करिब एक तिहाई पर्यटक हात्ती सफारीका लागि नै पुग्ने गरेको बताउनु भयो । हात्ती महोत्सवले पर्यटक बृद्धि गरी देशको अर्थतन्त्र बृद्धिमा सहयोग पुगोस भन्ने उदेश्यले पनि महोत्सवको आयोजना गरिएको बताउनु भयो ।
यस्तै उहाँले बेलामौका एनिमल राईट्सको बिषलाई लिएर हात्ती सफारी लगायतका बिषयमा नकारात्मक टिप्पडि हुनेगरेको तर्फ इङकित गर्दै उहाँले हात्तीको पालनपोषण र जीवनयापनमा कुनै कमि हुन नदिएको स्पष्ट पार्दै मानव र हात्ती बीचको सम्बन्धलाई उजागर गर्न खोजीएको बताउनु भयो ।
यस्तै स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीहरुसँग बीटुबी, चितवनमा पर्यटनको सम्भावना र चुनौतीसम्बन्धी अन्तरक्रिया कार्यक्रम, स्थानीय भेषभुषा तथा कला संस्कृतिसहित झाँकी प्रदर्शन हुनेछ।
राष्ट्रिय तथा स्थानीय कलाकारहरुद्वारा दैनिक सांस्कतिक कार्यक्रम, स्थानीय कृषि उत्पादनको प्रवर्द्धन गर्ने, महिला उद्यमी तथा स्थानीय कृषि उत्पादनको प्रवर्द्धन र सम्मान तथा पुरस्कार वितरण कार्यक्रम पनि महोत्सवमा हुने आयोजकले जनाएको छ।
महोत्सवका कारण हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटनहरूको आगमनमा वृद्धि हुने गरेको आयोजकले जनाएको छ।
यस्तै प्लाष्टिकजन्य पदार्थलाई पनि निरुत्साहित गर्दै डिजिटल प्रविधिबाट कार्यक्रमहरुको प्रवद्र्धन गर्ने प्रयास गरिरहेको पनि आयोजकले जनाएको छ ।