अर्घ्यको दउरा लिएर छठ घाट पुगे खानेपानी मन्त्री यादव, परम्परा र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड

अर्घ्यको दउरा लिएर छठ घाट पुगे खानेपानी मन्त्री यादव, परम्परा र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड

  • बिहिबार, कार्तिक २२, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

वीरगञ्ज, २२ कार्तिक । मधेस प्रदेशको सर्वाधिक श्रद्धाको पर्व छठ यहाँका प्रत्येक घरमा उल्लासपूर्वक मनाइन्छ । यो पर्व मधेसको सांस्कृतिक आस्थाको प्रतीक हो, जसलाई ठूला होस् वा साना, सबैले समान श्रद्धा र भक्ति भावले मनाउने परम्परा रहेको छ ।

छठ पर्वको यस विशेष अवसरमा सङ्घीय खानेपानी मन्त्री प्रदीप यादव पनि आफ्नो पैतृक गाउँ वीरगञ्ज महानगरपालिका–२२, मनियारीस्थित छठ घाटमा दउरा लिएर सहभागी हुनुभएको छ ।

मन्त्री यादवले परिवारका सदस्यहरूसँग मिलेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठी माताको पूजा गर्नुभएको हो ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहनुभएका मन्त्री यादवले सामाजिक सञ्जालमा आफ्नो दउरा बोकेर छठ घाटतर्फ गइरहेको भिडियो र तस्बिरहरू साझा गर्दै सम्पूर्ण देशवासीलाई छठको पावन अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जालमा लेख्दै मन्त्री यादवले भन्नुभएको छ, “छठ पर्व ! महापर्व !! राष्ट्रिय पर्व !! लोक आस्था र प्रकृति पूजनको प्रतीक यस महान् पर्वको अवसरमा साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठी माताको पूजा गर्न आफ्नै पैतृक गाउँ वीरगञ्ज महानगरपालिका–२२, मनियारीस्थित छठ घाटमा परिवारसँगै ‘दउरा’ लिएर पुग्ने सौभाग्य प्राप्त भयो ।”

उहाँले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दा सम्पूर्ण देशको समृद्धि, सुख-शान्ति र हर्षोल्लासको आफूले कामना गरेको समेत जिकिर गर्नुभएको छ । “यो महान् पर्वले सम्पूर्ण नेपालीलाई आफ्नो परम्परा र संस्कृति प्रति गर्व गर्न प्रेरणा देओस् र हामी सबैको जीवनमा छठी माताको अपार कृपा रहिरहोस्,” उहाँले लेख्नुभएको छ ।

छठ पर्वले सबै नेपालीको जीवनमा खुसी र समृद्धि ल्याओस् भनी कामना गर्दै मन्त्री यादवले भन्नुभयो, “छठ केवल एउटा पर्व होइन; यो हाम्रो समाजको आध्यात्मिक, सांस्कृतिक, र सामुदायिक शक्तिको प्रतीक हो । यसले हामीलाई हाम्रा परम्परा र संस्कारप्रति गर्व गर्न अभिप्रेरित गर्छ । हामीले यस पर्वलाई भावी पुस्तामा हस्तान्तरण गरेर हाम्रो परम्परा र रीतिरिवाजको संरक्षणमा ध्यान दिनुपर्छ ।”

मन्त्री यादवले छठ पर्वले समाजमा भाइचारा, एकता र प्रेमको भावना सृजना गर्ने बताउनुहुँदै नयाँ पुस्तालाई छठको महत्त्व र यसका सांस्कृतिक पक्षहरू बुझाउनुपर्ने आवश्यकता औँल्याउँदै भन्नुभयो, “हामी सबैको जिम्मेवारी हो कि छठ पर्वजस्ता सांस्कृतिक परम्परालाई भावी पुस्ताले पनि गहिराइपूर्वक बुझुन् र यसलाई हृदयमा समेटुन् ।”

मन्त्री यादवले छठी माताको आशीर्वादले समाजमा स्थायी शान्ति, समृद्धि, र सकारात्मक ऊर्जाको विस्तार हुने विश्वास व्यक्त गर्दै सम्पूर्ण नेपालीलाई आफ्ना परम्परागत संस्कारहरूप्रति गर्व गर्न प्रेरित गर्नुभयो । उहाँले यस महान् पर्वले राष्ट्रिय एकता र सद्भावलाई मजबुत बनाउन सघाउ पुर्‍याउनेमा विश्वास व्यक्त गर्दै समाजको समृद्धिका लागि निरन्तर साथ र सहयोगको कामना गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ