सोलुखुम्बु । सोलुखुम्बुमा शनिवार दुई वटा घर पहिरोले बगाउँदा पाँच जनाको मृत्यु भएको छ।
जिल्लाको सोलुदुधकु्ण्ड नगरपालिका वडा नम्बर ९ र १० मा गएको पहिरोमा परेर पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार मृत्यु हुनेमा वडा नम्बर ९ स्थित माइती घर आएकी सोलुदुधकुण्ड नगरपालिका २ का छिरिङ शेर्पाको श्रीमती अन्दाजी वर्ष २३ की ल्हामु शेर्पा, उनकी सात महिनाका छोरा फुर्वा ल्होप्साङ शेर्पा र सोही नगरपालिका वडा नम्बर ९ की वर्ष २९ की रिना तामाङ रहेका छन्।
यस्तै सोलुदुकुण्ड नगरपालिका–१० चैलुङकी अन्दाजी वर्ष ३३ की कविता मगर र सोही ठेगानाका वर्ष–२४ की रुपु मगरको पहिरोमा ज्यान गएको प्रनाउ घिमिरेले जानकारी दिए। शनिवार दिउँसो करिब १२÷२० बजेको समयमा लगातार परेको अबिरल वर्षाको कारण चैलुङका टेक बहादुर मगरको ढुङ्गामाटोले बनेको काठको छानो भएको १ तले घरको माथिबाट गएको पहिरोले घर बगाउँदा कविता र रुपुको मृत्यु भएको थियो।
साथै सोही नगरपालिका–९ छेवर बस्ने डिमा दावा शेर्पाको ढुङगा माटोले बनेको घर पहिरोले बगाउँदा घर भित्र बसेका छिरिङ फुर्वा र रिनाको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही घटनामा अन्दाजी ६२ वर्षीया याङजी शेर्पाको टाउमा गम्भीर चोट लागि घाइते भएको प्रनाउ घिमिरेले बताए। उनले भने,ुबृद्धा महिलाको प्रहरी र स्थानीयले उद्धार गरेर उपचारमा लगिएको छ, तर उहाँ बोल्न नसक्ने अवस्थामा हुनुहुन्छ, अवस्था गम्भीर रहेको छ।
घाइते शेर्पाको वाङछु मेमोरियल अस्पताल सोलुदुधकुण्ड नगरपालिका–१० टाप्टिङमा उपचार भइरहेको छ।