साउन १४ काठमाण्डौँ । सहकारी छानबिन संसदीय समितिले सहकारीको रकम अपचलन गरी विदेश भागेकालाई स्वदेश फर्काउन निर्देशन दिएको छ ।
समितिको सोमबार बसेको बैंठकमा गृह मन्त्रीसँग सहकारीका सम्बन्धित विषयमा छलफल भएको हो । उक्त बैठकले सहकारीको पैसा अपचलन गरी १८ जना फरारलाई फर्काउन निर्देशन दिएको हो ।
समितिले अपचलनमा संलग्न आरोपी रहेका जीबी राई, सूर्यदर्शनका ज्ञानबहादुर बम्जन, थानबहादुर राई, भुपेन्द्र राई, सानोपाइलाका तस्विरन खातुन र अश्रफ अली, सहारा तथा सुप्रिमका सुवास केसी नेपाल झिकाउन समितिले निर्देश दिएको हो ।
त्यसैगरी, सुमेरु सहकारीको रकम अपचलनमा संलग्न भरत महर्जन, माजमाया महर्जन, सचिन महर्जन र सरला महर्जनलाई समेत सम्पर्कमा ल्याउन भनिएको छ । साथै, शिवशिखरका तेजबहादुर बम्जन तामाङ, इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली र छेदा नेपाली, व्यवस्थापक दिपक पौडेल, शिवशिखर सहकारीका लीलानाथ गौतम, कान्तिपुर सेभिङका प्रेमध्वज लामा र मेघाड्रिमका महाशंकर रेग्मीलाई स्वदेश फर्काउन निर्देशन दिएको हो ।
सहकारी ठगी गरेका आरोपमा विराटनगर कारागार र थुनामा रहेका केही व्यक्तिका हकमा सोधपुछ गर्ने समितिका सभापति सूर्य थापाले बताए । समितिले कारागार र थुनामा रहेका २४ जनालाई सोधखोज गर्नुपर्ने देखिएको भन्दै सोधपुछ गर्नुपर्नेहरुको नाम गृहमन्त्रीलाई दिएको थापाले जानकारी गराए ।