११ साउन, काठमाडौं । सौर्य विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ ।
आजै अपरान्हसम्म आफन्तलाई मृतकको शव दिने तयारीका साथ काम भइरहेको त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीले बताए ।
उनका अनुसार चार वटा शव बढी जलेकाले डेन्टल एक्जामिनेसनमार्फत परीक्षण भइरहेको छ ।
‘आफन्तले दिएको विवरण र क्लिनिकल तथ्यको आधारमा एक अर्कोको विवरणलाई हेरेर १४ वटा शवको लगभव पहिचान भईसकेको अस्पतालले जनाएको छ । अब बाँकी ४ वटा शवको डेन्टल एक्जामिनेसनमा रिर्पोट आउन बाकीँ रहेको र रिपोर्ट पोजेटिभ आएमा आज शव आफन्तलाई बुझाउने तयारी छ ।
सौर्य एयरलाइन्सको विमान बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।
पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र भक्तपुर अस्पतालका फोरिन्सिक विशेषज्ञ लगायतका २५ जना खटिएको उनले जानकारी दिए ।
उनका अनुसार प्रहरी वा आफन्तले देखेको भरमा सनाखत गर्दा शव फरक पर्न सक्ने ठूलो जोखिम हुन्छ । के–आधारमा यो व्यक्ति भनियो भन्ने वैज्ञानिक आधार स्पष्ट भएपछि मात्र आफन्तलाई शव जिम्मा लगाउने उनले बताए ।
उता सौर्य एयरलाइन्स जहाज दुर्घटनामा घाइते भई उपचार भइरहेको क्याप्टेन मनिष शाक्यलाई न्यूरो सघन उपचार कक्ष (आईसीयू) बाट बाहिर सारिएको छ ।
क्याप्टेन शाक्यलाई बिहीबार साँझ आईसीयूबाट क्याबिनमा सारिएको काठमाडौं मेडिकल कलेजकी मेडिकल डाइरेक्टर डा. मीना थापाले जानकारी दिइन् ।
उहाँको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको छ ।शाक्यको अनुहार, आँखा, नाक, टाउकोमा चोटहरू, ढाडको एउटा हडी र देव्रे पट्टि तीन वटा करंगहरू भाँचिएको थियो ।