गण्डकी, ९ साउन : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले मर्मतका लागि पोखरा आउँदै गर्दा सौर्य एयरलाइन्सको ९एन-एएमई कलसाइनको जहाज दुर्घटनामा परेको जनाएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जसोदा सुवेदीले पोखरामा सुविधा सम्पन्न ‘ह्याङ्गर’ भएका कारण सौर्य एयरलाइन्सको जहाज प्राविधिक परीक्षण लागि आउन लागेको जानकारी दिनुभयो ।
काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सो एयरलाइन्सको ९ एन एएमई जहाज दुर्घटना भएको थियो । दुर्घटनामा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्नेक्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।
“जहाजमा कुनै खराबी आएर नभइ निश्चित घण्टा उडेपछि नियमित तालिका अनुसार गर्नुपर्ने प्राविधिक परीक्षणका लागि पोखरा आउन लागेको थियो”, उहाँले भन्नुभयो, “पोखरामा रहेको सुविधासम्पन्न ह्याङ्गरमा राखेर जहाज परीक्षण गर्न एयरलायन्सका कर्मचारी र प्राविधिकहरु जहाजमा सवार रहेको जानकारी आएको छ ।” गत वर्ष काठमाडौँबाट पोखरा आउँदै गरेको यति एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटना हुँदा ७२ जनाको ज्यान गएको थियो ।
सुवेदीका अनुसार पोखराको ह्यांगरमा राखेर मर्मतका लागि उक्त विमान कम्पनीले अनुमति लिएको थियो ।काठमाडौं टेकअफ गर्नेबित्तिकै सौर्यको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गनजिकै दुर्घटनामा परेको हो । विमानमा सबै सौर्य एयरलाइन्सको चालक दलका सदस्य र कर्मचारी रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । सौर्य एयरलाइन्सले काठमाडौंबाट पोखरा भने नियमित उडान गर्दैन ।
विमान चालक मनिषरत्न शाक्यलाई प्रहरीले उद्धार गरी अस्पताल लगेको छ ।