काठमाडौँ, ९ साउनः काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ ।
चालक दलका सदस्यसहित १९ जना यात्रु रहेको विमान उड्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको विमानस्थल कार्यालयले जनाएको छ । विमानमा आगलागी भएको र आगलागी नियन्त्रण गर्न तीनवटै निकायका सुरक्षाकर्मी परिचालन गरिएको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले बताए । दुर्घटनाका बारेमा जानकारी लिन गृहमन्त्री रमेश लेखक विमानस्थल पुगेका छन् ।
विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ । विमानस्थलका अधिकारीहरूका अनुसार विमानले अन्य विमानहरूलाई क्षति पुर्याएको छैन । विमानस्थल नजिकका घरहरूमा पनि कुनै क्षति पुगेको छैन ।
बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए । सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् ।