नौवर्षपछि बागलुङमा ऐतिहासिक हनुमान नाच प्रदर्शन हुँदै

नौवर्षपछि बागलुङमा ऐतिहासिक हनुमान नाच प्रदर्शन हुँदै

  • मङ्लबार, साउन ८, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

गण्डकी, ८ साउनः नौ वर्षपछि हनुमान नाच सुरु हुन लागेको थाहा पाएपछि सोमबार हामी बागलुङ बजारको नारायणचोक पुग्यौँ । सूर्यास्तको समय भइसकेको थियो । घामका पहेँला किरणले नारायणचोक सुनौलो र मनमोहक देखिन्थ्यो । पुरानो लक्ष्मीनारायण मन्दिर, छेवैमा वरपिपल चौतारी, परम्परागत घर, पसल, गल्ली आदिले उहिलेको बागलुङ बजारको झल्को दिन्थ्यो ।

चौतारी र मन्दिरछेउ ढुङ्गा बिछ्याइएको चौडा गल्लीनेर हामी टक्क अडियौँ । जसलाई स्थानीय नेवार समुदायले ‘अखडा’का रूपमा लिने गर्छन् । हामी त्यहाँ पुग्दा स्थानीयवासीको चहलपहल सुरु भइसकेको थियो । पाकापुरानादेखि बालबालिकासम्म नारायणचोकमा भेला भएका थिए । केहीबेरमा नारायण मन्दिरको अघिल्तिरबाट मृदङ्गा र झ्यालीको ताल गुञ्जिन थाल्यो । ‘अखडा’मा लौरो समाएर तम्तयार भएका युवाहरू सोही तालमा लौरो जुझाउँदै नाच्न थाले । यो क्रम झण्डै डेढ घण्टा चल्यो ।

युवाहरू नौ वर्षको अन्तरालमा आगामी भदौ ११ देखि सुरु गर्न लागिएको ऐतिहासिक हनुमान नाचको प्रशिक्षण लिँदै थिए । नाच र वाद्यवादनमा पारङ्गतहरूबाट युवाहरूले उक्त कला सिकिरहेका थिए । बागलुङको नेवार समुदायमा प्रचलित हनुमान नाचको पूर्वाभ्यास सँगसँगै नयाँ पुस्तामा उक्त नाचबारेको ज्ञान, कला र शिल्प सिकाउने उद्देश्यले हनुमान नाच संरक्षण परिषद्ले सो प्रशिक्षण चलाएको हो । यही साउन १ गतेदेखि सुरु भएको उक्त प्रशिक्षण यो महिनाभर चल्नेछ ।

पहिलोपटक प्रशिक्षण लिइरहनुभएका अनिल प्रधानलाई हामीले नारायणचोक भेट्यौँ । ऐतिहासिक नाचको सदस्य कलाकार हुन पाउँदा आफू उत्साहित उहाँले हामीसँग सुनाउनुभयो । “म लगायत केही युवा साथी पहिलोपटक हनुमान नाच नाच्दैछौँ, अग्रजहरूबाट आफ्नो सांस्कृतिक नाच सिक्न पाउँदा हामी खुसी छौँ”, उहाँले भन्नुभयो । नेपाल भाषा मंका खलः बागलुङका सचिव सुदीप राजभण्डारीले आफू तेस्रोपटक हुनमान नाच नाच्न लागेको बताउनुभयो ।

“हाम्रा परम्परागत नाच, गीत नयाँ पुस्तामा हस्तान्तरण नहुँदा लोप हुने खतरा छ, यिनको जगेर्नाका लागि पनि बेलाबेलामा अभ्यास तथा प्रशिक्षण भइरहनुपर्छ”, उहाँले भन्नुभयो, “यसपालिको हनुमान नाचमा नयाँ पुस्ताको उल्लेख्य सहभागिता रहनेछ, नाचको अभ्यासका क्रममा पनि किशोर र युवाहरूको आकर्षण बढी देखिएको छ ।” प्रशिक्षण सहभागीमध्ये झण्डै ४० जना नाचका लागि छनोट हुनेछन् । तीमध्ये अधिकांश युवा रहनेछन् । वाद्यवादनतर्फ पनि आठदेखि दस जनासम्म छनोट हुने जनाइएको छ ।

विसं २०७२ पछि यो वर्ष विधिवत रूपमा हनुमान नाच देखाउने तयारी भइरहेको परिषद्का अध्यक्ष तीर्थप्रसाद श्रेष्ठले बताउनुभयो । त्यसअघि विसं २०६३ मा उक्त नाच प्रदर्शन गरिएको थियो । तीन, पाँच, सात र नौ गरी बिजोड वर्ष पारेर नाच नचाउने परम्परा रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । “भदौ ११ गते मङ्गलबारदेखि सुरु हुने नाच चैतको अन्तिम मङ्गलबार बिर्सजन हुनेछ”, उहाँले भन्नुभयो ।

भदौको पहिलो या दोस्रो मङ्गलबार पारेर नारायणचोकमा हनुमानको मूर्ति प्रतिस्थापन गरी पूजा विधि गरेपछि हुनमान नाच सुरु गर्ने चलन छ । सोही दिन भीमसेनको मन्दिरमा विशेष पूजाआजा गरी बोका बलि दिने परम्परा रहिआएको छ । पौराणिककालका वीर हनुमानको आराधानाले शक्ति प्राप्त हुनुका साथै सुख, समृद्धि प्राप्त हुने विश्वासमा हनुमान नाच नाच्ने गरिएको संस्कृतिकर्मी प्रेम छोटाले बताउनुभयो । रामायणका प्रमुख पात्र रहेका हनुमानमा निहित पराक्रम, वीरता, अनुशासन र भक्तिभावलाई नृत्यको माध्यमबाट प्रदर्शन गरिने उहाँको भनाइ छ ।

“नाचमा १३ जोडी कलाकारले हनुमानको स्वरुप धारणा गरेर दिने प्रस्तुति कलात्मक हुन्छ, विभिन्न दश तालमा यो नाच नाचिन्छ”, उहाँले भन्नुभयो, “यो पाँच सय वर्षभन्दा पहिले भक्तपुरबाट सुरु भएको नाच हो, पछि त्यहाँबाट बागलुङ बसाइँ सरेर आएका नेवारहरूले हुनमान नाचको संस्कृति पनि सँगै ल्याए ।” बागलुङमा नेवार समुदायको इतिहास झण्डै साढे तीन सय वर्ष पुरानो छ ।

विसं १७६८ मा पहिलोपटक नेवार जाति बागलुङ प्रवेश गरेको इतिहासमा उल्लेख रहेको संस्कृतिकर्मी छोटाले बताउनुभयो । उहाँका अनुसार हनुमान नाच मल्लकालीन समयमा भक्तपुरका राजा भुपतिन्द्र मल्लले हनुमान नाच सुरु गरेका थिए । हनुमान नाच मङ्गलबार, बिहीबार र शनिबार नाच्ने पराम्परा रहेको उहाँको भनाइ छ । नेवारबाहेक अन्य समुदायका कलाकारले पनि नाचमा भाग लिन पाउँछन् ।

बागलुङ बजारका विभिन्न टोल, बस्ती र माग भए जिल्लाबाहिर पनि पुगेर नाच देखाइने हनुमान नाचका प्रधान कजी (व्यवस्थापक) ईश्वर मलेपतीले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि काठमाडौँ, भक्तपुर, पोखरा, भैरहवालगायत ठाउँमा उक्त नाच प्रदर्शन गरिएको थियो । भक्तपुरबाट सुरु भए तापनि हुनमान नाच बागलुङ, बेनीलगायत सीमित ठाउँमा मात्र संरक्षित रहेको उहाँको भनाइ छ ।

“धेरै कलाकार चाहिने हुँदा यो नाच महँगो पनि छ, पूजाआजा, पोशाक, वाद्ययन्त्रलगायत सामग्री व्यवस्थापनमा पनि खर्च बढी हुन्छ”, उहाँले भन्नुभयो । नाच सञ्चालनका लागि प्रधान कजी (व्यवस्थापक), उपप्रधान कजी, कजी, पूजारी, वाद्यवादक, कलाकारलगायत एकैपटक सयौँ व्यक्ति खटिनुपर्छ । हनुमान नाच बागलुङकै सांस्कृतिक धरोहरका रूपमा रहेको उहाँले बताउनुभयो ।

देवालय, सलामी, छ ताल, आठ ताल, १२ ताल, २४ ताललगायत गरी दश तालमा कलाकार नाच्ने गरेको वाद्यवादक निरज शाक्यले बताउनुभयो । पुच्छरसहित हनुमानको भेष पहिरेका कलाकार एकापसमा लौरो जुझाउँदै मृदङ्ग र झ्यालीको तालमा नाच्ने गरेको उहाँको भनाइ छ । नाच्ने क्रममा कतिपयलाई ‘वीर’ उत्रने गरेको छ । “बाजाको ताल छोपेर नाचिरहेका बेला कतै ताल बिग्रियो भने पनि वीर उत्रने गर्छ, बाहिरका व्यक्तिलाई पनि वीर उत्रन सक्छ”, उहाँले भन्नुभयो, “वीर उत्रेर शरीर काँप्ने, दौडने गरेमा पुजारीबाट धूप सुँघाएर सामान्य अवस्थामा फर्काउने गरिन्छ ।”

हनुमान नाचका अग्रज कलाकार शाक्यले पौराणिक ग्रन्थ रामायणको कथाका विभिन्न घटना तथा प्रसङ्गमा आधारित रहेर ताल र नाचको संयोजन गरिएको बताउनुभयो । “हुनमानले लङ्का घेरेकोदेखि लडाइँ जितेर विजयोत्सव मनाएकोसम्मका भाव र विषयलाई नाचद्वारा प्रस्तुत गरिन्छ”, उहाँले भन्नुभयो । बलियो हुने र आवाज पनि राम्रो आउने हुँदा नाचमा पलाँसको लौरो प्रयोग गर्ने गरिएको छ । हुनमान नाचका मुख्य कलाकार (ज्यामाको) नाच्न थालेपछि मात्र अन्य कलाकारले नाच्न सुरु गर्दछन् ।

नाचको उत्पत्ति भएको भक्तपुरबाटै लोप हुन लागेको हनुमान नाचको संस्कृति बागलुङमा भने जीवित रहेको संस्कृतिकर्मी छोटाले बताउनुभयो । पछिल्लो समय युवापुस्ता पनि हनुमान नाचप्रति आकर्षित भएकामा उहाँले खुसी व्यक्त गर्नुभयो । विसं २०४६ मा हनुमान नाच संरक्षण परिषद् गठन भएपछि बागलुङमा नाचको संरक्षण तथा प्रवर्द्धनमा संस्थागत पहल सुरु भएको हो ।

नेपाल भाषा मंका खलः बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले पुस्तान्तरण नहुँदा नेवार समुदायमा प्रचलित कतिपय नाच लोप हुने अवस्थामा रहेको बताउनुभयो । बसाइँसराइ, युवाहरू पढ्न बाहिर जाने प्रवृत्तिले पुरानो कला, संस्कृति जोगाउने चुनौती थपिएको उहाँको भनाइ छ । “सांस्कृतिक पर्वमा नाच्ने, गाउने, बजाउने पुराना पुस्ताका धेरै कलाकार अहिले काठमाडौँ, पोखरालगायत सहरमा छन्”, उहाँले भन्नुभयो, “नयाँ पुस्तालाई पनि आफ्नो इतिहास, भाषा, कला र संस्कृतिप्रति उतिसाह्रो रुचि छैन, पढ्न र रोजगारीका लागि बाहिर जाने प्रवृत्ति बढ्दो छ ।”

अध्यक्ष राजभण्डारीले अहिलेसम्म जेनतेन धानिएको नेवारी संस्कृति सङ्कटोन्मुख रहेको बताउनुभयो । उहाँले विसं २०४६ पछिको परिवर्तन र आधुनिक विकासले पनि परम्परामा मार थपिएको धारणा राख्नुभयो । “पहिले कृषिमा आधारित समाज र जीवनशैली थियो, मानिसहरू एकै ठाउँमा बस्थे”, उहाँले भन्नुभयो, “अहिले आप्रवासन बढ्दो छ, युवापुस्ता बाहिर छ, यसले पनि पुरानो संस्कृति संरक्षणमा चुनौती थपेको छ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी