असार १७ काठमाण्डौँ । विगत केही दिनदेखि मनसुन न्यून चापिय रेखाका कारण सक्रिय भएको मनसुन, आगामी बिहीबारसम्म थप सक्रिय हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ।
विभागका अनुसार बिहीबारसम्म पनि देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनुको साथै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।
यससँगै विभागले उच्च जोखिम, मध्यम जोखिम र निम्न जोखिममा रहेका जिल्लाहरुको सूची पनि जारी गरेको छ। बिहीबारसम्म भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूलाई विभागले अनुरोध गरेको छ।