काठमाडौँ । दुधको बक्यौता माग्दै विरोध प्रदर्शनमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेको छ । मंसिरदेखिको दूधको पैसा पाउनुपर्ने मागसहित विरोध प्रदर्शनमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गर्दै दर्जनौलाई पक्राउ गरेको छ ।
केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको नेतृत्वमा किसानहरूले दुग्ध विकास संस्थान (डीडीसी) घेराउ र तालाबन्दी कार्यक्रम गर्ने क्रममा प्रहरीले केहीलाई पक्राउसमेत गरेको छ ।
संघका सञ्चालकसमेत रहेका बालकृष्ण उप्रेतीका अनुसार करिब ५० जना किसानहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ गरेका किसानहरूलाई सोह्रखुट्टे र कालीमाटीलगायतका प्रहरी वृत्तमा राखिएको छ ।
६ लाख दुग्ध किसानले करिब ७ महिनादेखिको भुक्तानी पाएका छैनन् । डीडीसी र निजी डेरी उद्योगहरू गरी किसानहरूले ४ अर्बभन्दा बढी बक्यौता उठाउन बाँकी छ । त्यसमध्ये डीडीसीले मात्र करिब २ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।
किसानलाई भुक्तानी दिलाउन सरकार र डेरी उद्योगीबीच पटकपटक सम्झौता भइसकेको छ । तर डेरी उद्योगीहरूले सम्झौतालाई बेवास्ता गरिरहेका छन् ।