डोटी, ३० जेठ : डोटीको सिलगढीमा डोटेलीभाषा, कला र साहित्य संरक्षणका लागि बौद्धिक बहस गरिएको छ । बुधबार मार्क्सवादी अध्ययन प्रतिष्ठान धनगढीको समन्वयमा नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँको आयोजना तथा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान कैलालीको सह-आयोजनामा बहस गरिएको हो ।
तत्कालीन डोटी गौँडाको इतिहास मेटिँदै गएको र डोटेली भाषा लोप हुन लागेकाले संरक्षणको आवश्यकता महसुस गरी बहस आयोजना गरिएको आयोजकले जनाएको छ ।
पछिल्लो समय डोटेलीभाषाको अस्तित्व मेटिने अवस्थामा पुगेको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा टिएन जोशीले बताउनुभयो । नेपालमा सबैभन्दा बढी बोलिने भाषामध्येको डोटेली भाषालाई विसं २०७८ को जनगणनामा नियोजित रूपमा कम देखाउने काम भएकाले त्यसको विरुद्धमा यस्ता कार्यक्रम आयोजना गर्नुपरेको उहाँको भनाइ छ । डोटेली भाषा डोटी जिल्लाको मात्रै नभएर तत्कालीन डोटी राज्यको भएकाले सुदूरपश्चिमका अन्य पहाडी जिल्लामा बोलिने भाषा पनि डोटेली रहेको उहाँले उल्लेख गर्नुभयो ।
एउटा पुस्ताको संस्कृति, ज्ञान, सीप र अनुभव अर्को पुस्तामा हस्तान्तरण गर्ने एउटा महत्वपूर्ण माध्यम भाषा भएकाले भाषा मासिँदै जानु पुर्खाको ज्ञान, संस्कृति, अनुभव हराउनु रहेको नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँका सदस्य सचिव डा धनप्रसाद सुवेदीले बताउनुभयो । भाषा कालान्तरमा गएर मर्ने भएपनि सांस्कृतिक रूपमा जीवित रहनुपर्ने उहाँको भनाइ छ । उहाँले भाषालाई स्थापित गर्न होडबाजी चलेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले भाषालाई जिल्लासँग जोडेर नामकरण गरिएको छ । हामीले जनगणनामा स्थापित गरेका छौँ । तर त्यो भाषा हुनलाई त्यो भाषा बोलिन्छ कि बोलिन्न ? भाषा स्थापित गर्न त्यसको व्याकरण, शब्द भण्डार चाहियो, त्यसमा साहित्य लेखिनु प-यो र त्यसलाई मान्यता दिनुप-यो ।”
भाषामा भाषिका हुने कुरा स्वाभाविक रहेको उहाँको भनाइ छ । डोटी, डडेल्धुरा, अछाम, बझाङ, बैतडीलगायतका जिल्लामा बोलीले भाषीका भएकाले ती भाषीकाबाट प्रतिनिधिमूलक छानेर डोटेलीभाषा स्थापित गर्नुपर्ने उहाँको भनाइ छ ।
डोटेली भाषाको संरक्षणका लागि आगामी जनगणना पूर्व नै धेरै कामगर्नु पर्ने चुनौती रहेको मार्क्सवादी अध्ययन प्रतिष्ठान धनगढी अध्यक्ष केशवनाथ योगीले बताउनुभयो । यो अवधिमा व्याकरण, शब्द भण्डार बनाउनेलगायतका काम हुन नसकेमा डोटेली भाषा खण्डीकरण भएर जाने योगीले स्पष्ट पार्नुभयो । भाषा खण्डीकरण भएमा सुदूरपश्चिमको देउडा संस्कृति पनि खण्डीकरण हुने उहाँको भनाइ छ ।