काठमाडौँ, १० फागुन : त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा केशरजङ्ग बराल नियुक्त हुनुभएको छ । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गर्नुभएको प्रधानमन्त्रीका निजी सचिवालयका सदस्य विनोद न्यौपानेले राससलाई जानकारी दिनुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिबाट सिफारिस भएका तीनै जना उम्मेदवारहरुको ‘मेरिटोक्रेसी’का विषयमा प्रधानमन्त्री प्रचण्डले अध्ययन गर्नुभएको थियो । सिफारिस समितिले विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि प्रधानमन्त्री प्रचण्ड समक्ष बरालसहित चित्रबहादुर बुढाथोकी र टङ्कनाथ धमलालाई सिफारिस गरेको थियो ।
उहाँलाई नियुक्ति गर्नुअघि प्रधानमन्त्रीले शिक्षामन्त्री एवं शिक्षा सचिवसँग उहाँको ‘करिअर’का विषयमा जानकारी समेत लिनुभएको थियो । उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो । शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको जनाइएको छ ।
शैक्षिक क्यालेण्डर कार्यान्वयन पहिलो प्राथमिकता : उपकुलपति बराल
त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा केशरजङ्ग बरालले पदबहाली गर्नुभएको छ । आज साँझ कीर्तिपुरस्थित विश्वविद्यालय कार्यालयमा पुगेर उहाँले कार्यभार सम्हाल्नुभएको हो ।
पदबहालीपछि कुराकानी गर्दै उपकुलपति प्रा डा बरालले आफ्नो पहिलो प्राथमिकता विश्वविद्यालयको वार्षिक शैक्षिक ‘क्यालेण्डर’ कार्यान्वयन गर्नु रहेको बताउनुभयो ।
“त्रिभुवन विश्वविद्यालय देशको ठूलो संरचनायुक्त संस्था हो । यहाँ धेरै काम गर्नुपर्नेछ”, उहाँले भन्नुभयो । शैक्षिक क्यालेण्डर कार्यान्वयन तथा समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशनलाई प्राथमिकता दिइने उपकुलपति प्रा डा बरालले बताउनुभयो । विश्वविद्यालयको पाठ्यक्रम अद्यावधिक गर्ने आफनो योजनामा रहेको उहाँको भनाइ थियो ।