नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ।
विराटनगरस्थित विराट मेडिकल कलेज उपचारका क्रममा सोमबार राति ८० वर्षको उमेरमा नेता बुढाथोकीको मृत्यु भएको हो। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेता बुढाथोकीप्रति सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन्। नेता बुढाथोकी लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पीडित थिए ।
‘सेतो बाघ’ उपनामले चर्चित झापा अर्जुनधारा नगरपालिकाका बासिन्दा बुढाथोकी पञ्चायतकाल र गणतन्त्र दुवै शासन व्यवस्थामा मन्त्री भएका थिए । नेता बुढाथोकी सामान्य प्रशासन मन्त्री, जलस्रोत सहायक मन्त्री, राष्ट्रिय पञ्चायत सदस्य, प्रधानपञ्च, जिल्ला पञ्चायत सभापति भइसकेका थिए।
बुढाथोकीका दुई छोरा र एक छोरी छन्। नेता बुढाथोकीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आज झापा जिल्ला पार्टी कार्यालयमा राखिने काँग्रेसले जनाएको छ ।