काठमाडौँ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने माग गरको छ ।
केन्द्रीय समितिको माघ २० मा भएको पाँचौ पूर्ण बैठले संविधान विरुद्ध चलखेल सुरु भएको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति चयन हुने निर्वाचन प्रणालीमा जानुपर्ने निष्कर्ष निकालेको हो ।
‘राष्ट्रको समृद्घि, जनआकांक्षाहरूको परिपूर्ती र राजनीतिक स्थीरताका निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको औचित्य पुष्टि भएको हुँदा संविधान संसोधनका निम्ति यो बैठक माग गर्दछ,’ निर्णयमा भनिएको छ, ‘साथै प्रतिगामी, पुनरुत्थानवादी तथा दक्षिणपन्थीहरूबाट लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, संविधान र जनताको सार्वभौमिकतामा प्रहार हुनसक्ने स्थितिप्रति सजग रहँदै यो बैठक सम्पूर्ण प्रगतिशील लोकतान्त्रिक समाजवादी शक्तिलाई एकजुट हुन आह्वावान गर्दछ ।’
नेसपाले समाजवादी शक्तिहरूको वृहत ध्रुवीकरण गरी नयाँ समाजवादी शक्ति निर्माण गर्न अपिल गरेको छ । विभिन्न समसामयिक प्रस्ताव गर्दै समाजवादी मोर्चाका लागि एकताबद्ध हुन अपिल गरेको छ । ‘पुराना शक्तिहरूको विकल्पमा प्रगतिशील, लोकतान्त्रिक, समाजवादी शक्तिहरूको वृहत ध्रुवीकरणसहित नयाँ समाजवादी शक्ति निमार्ण गर्नका लागि एकताबद्ध हुन यो बैठक अपिल गर्दछ,’ पारित प्रस्तावमा भनिएको छ ।
नेपाले टीआरसी विधेयकलाई सहमतिका आधारमा अघि बढाउन समेत माग गरको छ ।