राष्ट्रियसभा निर्वाचनमा कोशीको परिणाम अनपेक्षित : कांग्रेस

राष्ट्रियसभा निर्वाचनमा कोशीको परिणाम अनपेक्षित : कांग्रेस

  • शुक्रबार, माघ १९, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

काठमाडौँ, १९ माघ : नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचन, २०८० मा कोशी प्रदेशको परिणाम अनपेक्षित रहेको ठहर गरेको छ । कांग्रेस संसदीय दलको आज बसेको बैठकले गठबन्धनको साझा उम्मेदवारमध्ये एकजना पराजित भएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको हो ।

साथै बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनले वर्तमान सत्ता गठबन्धनलाई थप सवल बनाएको समेत ठहर गरेको छ । यही माघ ११ गते सम्पन्न राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनका तर्फबाट प्रस्तुत १९ जना साझा उम्मेदवारमध्ये १८ जना विजयी हुनुभएको थियो । निर्वाचनमा कांग्रेसका १० जना उम्मेदवार विजयी हुनुभएको थियो ।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले कांग्रेसका सम्पूर्ण सांसदहरूलाई संसद् र समितिका सम्पूर्ण गतिविधिमा अत्यन्त जिम्मेवारीपूर्वक क्रियाशील रहन, राष्ट्र र जनताका हितमा तत्परतापूर्वक काम गर्न निर्देशन गरेको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकमा संविधानको व्यवस्थाबमोजिम धेरै कानुन निर्माण गर्न बाँकी रहेको सम्बन्धमा छलफल भएको जानकारी दिनुभयो । बैठकले संविधानको कार्यान्वयनका लागि आवश्यक विधेयक तत्काल संसद्मा प्रस्तुत गर्न साथै संसद्मा विचाराधीन विधेयकहरू आउँदो अधिवेशनमा पारित गर्नका लागि आवश्यक भूमिका निर्वाह गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

बैठकले चालु आर्थिक वर्षको बजेटमा उल्लेखित विकास आयोजनाहरू तत्काल कार्यान्वयन गर्न र बजेट कम भएका कारण सम्पन्न हुन नसक्ने योजनामा बजेटको थप व्यवस्था गरी योजना सम्पन्न गर्न सरकारलाई आग्रह गरेको छ ।

कांग्रेसले संसद्को आगामी अधिवेशनमा संसद्मा विचाराधीन र अब प्रस्तुत हुने विधेयक पारित गर्न संसदीय गतिविधिहरूलाई व्यवस्थित र प्रभावकारी बनाउन संसद्भित्र रहेका सबै राजनीतिक दललाई अपिल गर्ने निर्णय गरेको प्रमुख सचेतक लेखकले बताउनुभयो ।

यसैगरी संसद् र समितिका बैठकहरूमा सम्बन्धित मन्त्रीहरूको उपस्थिति अनिवार्य हुनुपर्ने र बैठकमा उठेका विषयलाई सरकारले गम्भीरतापूर्वक लिई संसद्प्रति सरकार उत्तरदायी हुनुपर्ने भएको हुँदा मन्त्रीहरूको उपस्थिति सुनिश्चित गर्न सरकारलाई आग्रह गरिएको छ ।

सङ्घीय संसद्को अधिवेशन चालु रहेको समयमा कांग्रेस संसदीय दलका सदस्यलाई राजधानी बाहिर नजान आग्रह गरेको छ । यस्तै अत्यावश्यक कामले राजधानी बाहिर जानुपरेमा कारणसहित उल्लेख गरी संसदीय दलको प्रमुख सचेतक वा सचेतकसँग लिखित स्वीकृत लिनुपर्ने बैठकको निर्देशन छ ।

बैठकले संसदीय दलको विधानको धारा १७ (३) बमोजिम काम गर्न १० विभिन्न समितिका संयोजक चयन गरेको छ । जसअनुसार अर्थ समितिमा रामनाथ अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा डा नारायण खड्का, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रमा कोइराला पौड्याल, कानुन न्याय तथा मानवअधिकार समितिमा नागिना यादवलाई चयन गरिएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै कृषि, सहकारी तथा प्राकृति स्रोत समितिमा कुसुमदेवी थापा, महिला तथा सामाजिक मामिला समितिमा आशा विक, राज्य व्यवस्था तथा सुशासन समितिमा दिलेन्द्रप्रसाद बडू, पूर्वाधार विकास समितिमा दिनेशकुमार यादव, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा लीलादेवी बोखिम (लिम्बू र सार्वजनिक लेखा समितिमा श्यामकुमार घिमिरेलाई चयन गरिएको छ ।

साथै बैठकले कांग्रेस संसदीय दलको कार्यसमितिको निर्वाचन गर्न निर्वाचन समिति गठन गर्नका लागि पार्टी केन्द्रीय कार्यसमितिलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ