फुङलिङ , १७ माघ । प्रतिनिधिसभा सदस्य बसन्तकुमार नेम्बाङ अकस्मात बिरामी परेपछि उपचारका लागि काठमाडौँ ल्याईदै छ ।
नेकपा (एमाले) ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन फुङ्लिङ पुगेका उनी अचानक बिरामी परेका हुन् ।
सांसद नेम्बाङलाई हेलिकप्टरमा काठमाडौँ लैजाने तयारी भइरहेको एमाले ताप्लेजुङका अध्यक्ष भूपेन्द्र थेबेले जानकारी दिए। जिल्ला अस्पतालले उनलाई उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजान सुझाव दिएको अध्यक्ष थेबेले बताए ।
पाँचथरबाट निर्वाचित सांसद नेम्बाङ एमाले ताप्लेजुङको इञ्चार्जसमेत हुन् । उनी आज बिहान फिदिमबाट ताप्लेजुङ पुगेका थिए । खाना खाएर कार्यक्रममा जाने समयमा अचानक बिरामी परेपछि सांसद नेम्बाङलाई नजिकैको तमोर अस्पताल लगिएको थियो ।
तमोर अस्पतालमा प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उनलाइ जिल्ला अस्पताल लगिएको थियो । जिल्ला अधिवेशन लगायत विषयमा छलफल गर्न एमाले ताप्लेजुङको सचिवालय बैठक डाकिएको थियो ।