माघ १६ काठमाण्डौँ । तराई मधेशमा प्रभावशाली रहेको सत्तारुढ दल जसपा भित्र एक जना नेताको बिषयलाई लिएर असन्तुष्टी बढेको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले विना प्रकृया आफूले काखी च्याप्दै आएका सरकारी जागिरेका रुपमा खरदार रहेका रौतहटका बालकिशोर यादवलाई बनाउने तयारी गरेपछि पार्टी भित्र चरम असन्तुष्टी पैदा भएको छ ।
सरकारी जागीरको लाभ लिइरहेका यादवलाई मधेस प्रदेश अध्यक्ष जस्तो कार्यकारी पदको जिम्मेवारी दिने पार्टी अध्यक्ष यादवको प्रयास गरेपछि पार्टीको ठूलो पक्ति असन्तुष्ट रहेको जसपाबाट मधेश प्रदेशका एक मन्त्रीले नाम उल्लेख नगर्ने शर्तमा जानकारी दिए । अहिले लामो त्याग गरेर पार्टीमा सक्रिय रहेका नेताहरु संगठित रुपमै यो प्रयासको बिरुद्ध उभिन थालेका छन् ।
रौतहटको दुर्गाभवानी गाँउपालिका वडा नम्बर १ पिपरा स्थायी घर भएका यादव हाल स्वास्थ्य कार्यालय पर्सामा कार्यरत छन् ।एसएलसी उत्तीर्णपछि १५ महिने स्वास्थ्य तालिम लिई अहेब बनेका यादव पार्टीकै आडमा वर्षौदेखि स्वास्थ्य कार्यालय पर्सामा रवाफ जमाएर बसेका छन् ।
परिवारका सदस्यहरु सबै जना कांग्रेसी रहेका यादवले अहिलेसम्म एकपटक पनि जसपाका उम्मेदवारलाई मत नदिएको उनी निकट जानकारहरु दावी गर्छन् । यादवका बुबा रामानन्द यादव अहिलेपनि कांग्रेसको कृयाशील सदस्य छन् ।गत प्रदेश सभा सदस्यको निर्वाचनमा कांग्रेसका तर्फबाट लागेर जसपाका उम्मेदवारलाई हराउन यादव रातदिन खटेको यथार्थ कसैसंग लुकेकोपनि छैन ।रौतहटको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र मा यादवले कांग्रेससंग मिलेर जसपाका उम्मेदवारलाई हराउन अभियान नै चलाएका कारणले नै जसपाका प्रदेश सभा सदस्य उम्मेदवार झिनो मतले पराजित हुनु परेको त्यस क्षेत्रका जसपाका एक नेता बताउँछन् ।
उनि भन्छन्,‘ बालकिशोर यादवले आजसम्म एक पटक पनि जसपाका उम्मेदवारलाई भोट हालेको रेकर्ड नै छैन । गत चुनावमा उसले कांग्रेसीसंग मिलेर जसपा उम्मेदवारलाई हराउन अभियान नै चलाएका थिए ।’
पार्टीसँग घात गर्ने त्यस्ता व्याक्तिलाई जसपाको मधेस प्रदेश अध्यक्ष जस्तो पदमा ल्याउन खोज्नु पार्टीकै लागि दुर्भाग्यपूर्ण हुने ती नेता बताउँछन् । यदि पार्टी नेतृत्वले यादवलाई मधेस प्रदेश अध्यक्ष बनाउने सोच नबदले मधेसमा जसपाका आम नेता कार्यकर्ता विद्रोहमै उत्रने जोखिम रहेको उनको भनाई छ ।
धरातलीय राजनीतिमा कहिलेपनि पार्टीका लागि भुमिका नखेलेका,प्रत्येक चुनावमा उल्टै पार्टीका उम्मेदवारलाई हराउन लागिपर्ने खरदार सरहका सरकारी जागिरे यादवलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिदाँ प्रदेशका आम नेताकार्यकर्तालाई आत्मग्लानी हुने यादवकै गाँउले जसपाका एक नेताले बताए ।चुनावमा द्रब्य मोहमा परेर पार्टीसंग अन्तरघात गर्दै आएका यादवलाई मधेस प्रदेश अध्यक्ष बनाइए मधेसमा जसपाको साखपनि गुम्ने र यसले सयौं मधेसी सहिदको बलिदानी र त्यागको अपमानपनि हुने ती नेताको बुझाई छ ।
यतिमात्र नभई खरदारमा जागरि यादवलाई पार्टीको मधेस प्रदेश अध्यक्ष जस्तो गरिमामय पदमा राखेको खण्डमा पार्टीका तर्फबाट मन्त्री बनिसकेका, वर्तमान मन्त्रीका साथै पार्टीका अग्रज नेताहरुले समेत उक्त पदको वरियताक्रमको सम्मानका लागि यादवलाई आफनो नेता मान्नु पर्ने अवस्था आउने भएकाले ती अग्रज नेताहरुको राजनीतिक हत्या हुने धनुषाका जसपाका एक अग्रज नेता बताउँछन् ।
ती नेता भन्छन्,‘त्यसकारण पार्टी नेतृत्वले प्रदेशका आम नेताकार्यकर्ताको भावनामा ठेस नपुगोस् बेलैमा सोचविचार गरेर सही निर्णय लिनु पर्छ । अन्यथा यसबाट पार्टीमा पर्न जाने संकटले मधेसमा पार्टीको साख गुम्नपनि सक्छ ।’
पार्टीको वर्तमान प्रदेश समितिमै प्रदेशको नेतृत्व हाँक्न सक्ने सक्षम कैंयन नेताहरू रहेपनि उनिहरुलाई पाखा लगाएर सरकारी जागिरे खरदार यादवलाई प्रदेश अध्यक्ष बनाउँदा ती नेताहरुको अपमानपनि हुने प्रदेश समितिमै रहेका सप्तरीका एक नेताले बताए ।