पुस २३, काठमाडौँ । अबदेखि त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा प्राध्यापकले पनि प्रतिस्पर्धा गर्न पाउने भएका छन् । जारी छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि अनुसार त्रिवि उपकुलपतिमा प्राध्यापकले पनि प्रतिस्पर्धा गर्न पाउने भएको हो ।
शिक्षामन्त्री अशोककुमार राई अध्यक्ष रहेको सिफारिस समितिले सोमबार उपकुलपतिको लागि दरखास्त आव्हान गरेको हो । यसअघि शुक्रबार विश्वविद्यालयका पदाधिकारीले मात्रै प्रतिस्पर्धा गर्न पाउने गरी दरखास्त माग गरेपछि त्यसको विरोध भएको थियो । प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहालले प्रतिस्पर्धा गर्न पाउने दायरा फराकिलो बनाएर आवेदन माग गर्न समितिलाई निर्देशन दिएका थिए ।
कार्यविधिमा न्युनतम योग्यतामा कुनैपनि विश्वविद्यालयको प्राध्यापकमा नियुक्ति भई अनुभव प्राप्त गरेको हुनुपर्ने उल्लेख छ । शैक्षिक योग्यता न्युनतम स्नातकोत्तर तोकिएको छ । आवेदकबीच शैक्षिक योग्यता, अनुभव, पुस्तक प्रकाशन, विश्वविद्यालय सम्बन्धी सोचपत्र र व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरणमा एक सय अंकमा प्रतिस्पर्धा गराउने कार्यविधिमा उल्लेख छ । विश्वविद्यालय सम्बन्धी सोचपत्र र कार्य योजनालाई ३५ पूर्णाङक छुट्टाइएको छ । त्यसको प्रस्तुतीकरणमा २० र अर्न्तवर्ताका लागि १५ अंक तोकिएको हो । प्राज्ञिक अनुसन्धानमूलक परियोजनाका लागि ६, पुस्तक प्रकाशन वापत ५ पूर्णाङक, विश्वविद्यालयको पदाधिकारीको अनुभवका लागि ४ अंक, विद्यावारिधि योग्यताका लागि ५ अंक, प्राध्यापकको अनुवभ भएको १० पूर्णाङकमा मुल्याङकन हुनेछ । ३ हजार शब्दको सोचपत्र र ५ हजार शब्दको कार्ययोजना माग गरिएको छ ।
प्रतिस्पर्धीको आवेदनको मुल्याङ्कन गरेर अल्पसूचि प्रकाशन गरिने र विज्ञ समितिबाट अल्पसूचिमा परेकाबीच प्रतिस्पर्धा गराउने कार्यविधिमा उल्लेख छ । प्रतिस्पर्धामा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने तीन जनाको नाम सिफारिस गर्ने र तीमध्ये कुलपतिले एक जनालाई त्रिविको उपकुलपतिमा नियुक्ति दिने भनिएको छ । कुनैपनि राजनीतिक दलको सदस्य भएका र त्रिविमा स्वार्थको द्वन्द्व रहेका प्राध्यापकलाई भने दरखास्त दिनबाट वञ्चित गरिएको छ ।
आवेदकले सूचना प्रकाशित भएको १५ दिन भित्र अर्थात माघ ८ गते भित्र कार्यविधिमा तोकिएको कागजात सहित दरखास्त दिनुपर्ने उल्लेख छ । सिफारिस समितिको सचिवालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तोकिएको छ । सिफारिस समितिमा शिक्षा सचिव सुरेश अधिकारी र त्रिवि सभा सदस्य चन्द्रकला घिमिरे सदस्य रहेका छन् ।
प्रधानमन्त्री तथा कुलपति दाहालले विश्वविद्यलायमा गरिने नियुक्तिमा भागवन्डाको अन्त्य गरि मेरिटको आधारमा पदाधिकारी चयन गरिने प्रतिवद्दता जनाएका छन् । प्रधानमन्त्रीको निर्देशनपछि शिक्षा मन्त्रालयले कार्यविधि बनाएर उपकुलपतिको नियुक्ति प्रक्रिया अघि बढाएको हो । कात्तिक १७ गते देखि त्रिविमा उपकुलपति पद रिक्त छ । शिक्षाध्यक्ष शिवलाल भुसाललाई निमित्तको जिम्मेवारी दिईएको छ । शिक्षाध्यक्ष ९रेक्टर० र रजिष्ट्रारको पद पनि रिक्त छ । उपकुलपति नियुक्त भएपछि मात्रै शिक्षाध्यक्ष र रजिष्ट्रार नियुक्तिको प्रक्रिया अघि बढाउन सकिने प्रावधान छ । शिक्षाविद्हरुले प्रतिस्पर्धाबाट चयन हुने उपकुलपतिलाई रेक्टर र रजिष्ट्रार नियुक्तिमा स्वतन्त्रता दिनुपर्ने औंल्याएका छन् ।