विद्यार्थीलाई नियमित विद्यालय ल्याउन ‘हेलो अभिभावक’ कार्यक्रम

विद्यार्थीलाई नियमित विद्यालय ल्याउन ‘हेलो अभिभावक’ कार्यक्रम

  • आइतवार, पुस २२, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

गण्डकी, २२ पुस : भौगोलिक कठिनाइ, सडक, खानेपानीलगायत पूर्वाधारको अभाव झेलिरहेका लमजुङको दोर्दी गाउँपालिका–७ फलेनीका बासिन्दा शिक्षामा भने गाउँ पछाडि पर्न नहुनेमा सचेत छन् । दोर्दीको विकट गाउँमा ५० वर्षदेखि शिक्षाको उज्यालो छरिरहेको बालकल्याण माध्यमिक विद्यालय यसकै एक उदाहरण हो ।

अघिल्लो पुस्ताको त्याग र मेहनतको जगमा उभिएको सो विद्यालयले अहिले शैक्षिक तथा भौतिक सुधारमा फड्को मारेको छ । चिटिक्क विद्यालय भवन, सिकाइमैत्री वातावरण, अध्यापनमा समर्पित शिक्षक, जिज्ञासु र अनुशासित विद्यार्थी, जागरुक अभिभावक तथा विद्यालयप्रतिको सामाजिक एकताले बालकल्याण मावि सिँगारिएको छ ।

विसं २०३० मा बोधलाल श्रेष्ठ, कामराम गुरुङ र चेष्टनारायण गुरुङले सो विद्यालय स्थापनामा अगुवाइ गर्नुभएको थियो । दोर्दी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष दिलबहादुर घलेले बालकल्याण माविलाई गाउँको चेतनाको धरोहरका रूपमा चिनाउनुभयो । “दोर्दी करिडोरको अगुवा विद्यालय हो यो, भौगोलिक हिसाबले पछाडि परे पनि यहाँको शैक्षिक उन्नयनमा बालकल्याण माविको महत्त्वपूर्ण योगदान छ”, उहाँले भन्नुभयो ।

उक्त विद्यालयमा फलेनीसहित ढोडेनी र बन्सर क्षेत्रका बालबालिका अध्ययनका लागि आउने गरेका छन् । विद्यालयका प्रधानाध्यापक नवराज घिमिरेका अनुसार अहिले दुई सय पाँच विद्यार्थी विद्यालयमा अध्ययनरत छन् । गुणस्तरीय सिकाइका लागि विज्ञान प्रयोगशाला, कम्प्युटर कक्षा, पुस्तकालय, बालविकास केन्द्र आदि सञ्चालनमा रहेको प्रअ घिमिरेले बताउनुभयो ।

“भवन, कक्षाकोठाको अभाव छैन, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट तीनवटा पक्की भवन बनेका छन्, भौतिकरूपमा विद्यालय सम्पन्न छ”, उहाँले भन्नुभयो, “विद्यार्थीको सिकाइ उपलब्धिसँगै विद्यालयको समग्र शैक्षिक सुधारतर्फ हामी केन्द्रित भएका छौँ ।” विद्यालयले कक्षा १० का विद्यार्थीका लागि आवासीयरूपमा पठनपाठन गर्ने व्यवस्था मिलाएको उहाँले उल्लेख गर्नुभयो ।

कक्षाकोठामा अधिकतमरूपमा शैक्षिक सामग्रीको प्रयोग गर्दै विद्यार्थीलाई व्यावहारिक र प्रयोगात्मक सिकाइ अभ्यासमा जोड दिइएको उहाँले बताउनुभयो । “छिट्टै अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु गर्ने योजनामा छौँ, तर त्योभन्दा पहिले तल्लो तहका विद्यार्थीलाई नेपाली भाषामै परिपक्व बनाउनुपर्ने आवश्यकता छ”, प्रअ घिमिरले भन्नुभयो, “कक्षा १० र ८ कक्षामा पूर्वपरीक्षा लिने गरिएको छ, विद्यार्थीलाई नियमित विद्यालय ल्याउन हेलो अभिभावक कार्यक्रम सञ्चालन भइरहेको छ ।”

भौगोलिक विकटता र छरिएर रहेका बस्ती भएका कारण कक्षा ९ र १० मा पढ्ने कतिपय विद्यार्थी घण्टौँ लगाएर विद्यालय आउनुपर्ने बाध्यता रहेको वडा नं ७ का वडाध्यक्ष रीसमाया गुरुङले बताउनुभयो । लप्सीबोट, दैलुङ, नागी, सिमलगायत गाउँबाट एक–डेढ घण्टा पैदल हिँडेर विद्यार्थी बालकल्याण माविमा आउने गरेको उहाँको भनाइ छ ।

“टाढाबाट आउने विद्यार्थीका लागि विद्यालयले गाडीको व्यवस्था गर्नसके धेरै सहज हुने थियो, यसमा हामीले पहल गर्छौँ, गाउँपालिकामा पनि यो कुरा उठाउँछौँ”, वडाध्यक्ष गुरुङले भन्नुभयो, “गाउँलेकै योगदान र पहलबाट यो विद्यालय यहाँसम्म आइपुगेको हो, भवनलगायत पूर्वाधारमा राज्यको पनि ठूलो लगानी परेको छ ।”

विद्यालयसम्म जोड्ने सडक स्तरीय नहुँदा यातायात सञ्चालनमा पनि कठिनाइ रहेको उहाँको भनाइ छ । वडाको थोरै बजेटले पूर्वाधार विकासका काम गर्न नसकिने भन्दै वडाध्यक्षले गुरुङले त्यस क्षेत्रमा सडक र खानेपानीको सुविधाका प्रदेश र सङ्घ सरकारको बजेट चाहिने उल्लेख गर्नुभयो ।

विद्यालयकै शैक्षिक विकासका लागि ‘बालकल्याण मावि स्वर्ण अक्षयकोष’ स्थापना गरिएको प्रज घिमिरेले जानकारी दिनुभयो । यही पुस ९ देखि १४ गतेसम्म चलेको विद्यालयको ५०औँ वार्षिकोत्सव एवं स्वर्ण महोत्सवका अवसरमा उक्त अक्षयकोषमा रु ४३ लाख ५० हजार सङ्कलन भएको उहाँले बताउनुभयो । अक्षयकोष स्थापनार्थ सञ्चालन गरिएको आर्थिक सहयोग अभियानमा स्थानीय दाताबाट सो रकम जुटेको हो । सबैभन्दा बढी दोर्दी–८ बन्सरका खर्ब तामाङले रु तीन लाख प्रदान गरेको विद्यालयले जनाएको छ । विद्यालयले न्यून आय भएका परिवारका बालबालिकालाई छात्रवृत्ति, छात्रावास निर्माण, गाडी सुविधालगायतका योजना अगाडि बढाएको छ ।

विद्यालयमा प्रावि तहमा नौ स्थायी, निमाविमा चार स्थायी र मावि अनुदानमा दुई शिक्षक, एक लेखापाल, कार्यालय सहयोगीलगायत गरी १९ जना शिक्षक तथा कर्मचारी कार्यरत छन् । शिक्षकको तलब सुविधामा विद्यालयलाई आन्तरिक स्रोतबाट रकम जुटाउनुपर्ने स्थिति छैन । तलब, भत्ता सबै राज्यकोषबाट प्राप्त हुने गरेको प्रअ घिमिरेले बताउनुभयो ।

“टाढाबाट आउने विद्यार्थीका लागि यातायातको सुविधा नहुँदा समस्या भइरहेको छ, दैनिक घण्टौँ लगाएर विद्यालय आउजाउ गर्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “विद्यालयको आफ्नै बस सञ्चालनका लागि गाउँपालिका र प्रदेश सरकारसँग आर्थिक सहयोगको माग गरेका छौँ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी