धार्मिक सहिष्णुता कायम राख्न गुठी संस्थानको भूमिका

धार्मिक सहिष्णुता कायम राख्न गुठी संस्थानको भूमिका

  • सोमवार, पुस २, २०८०
  • जनक पोखरेल, कानून अधिकृत, गुठी संस्थान

  • 18.3K
    SHARES

गुठी संस्थानले यही कार्तिक १७ गते आफ्नो स्थापनाको ६० औं वर्ष पार गरेको छ। दाताले आफ्नो चल अचल सम्पत्ति वा आयस्ता आउने अरु कुनै सम्पत्ति वा रकममा आफ्नो निजी हक छाडी सार्वजनिक हितका लागि समर्पण गर्ने हुँदा गुठी भनेको कुनै सामाजिक वा धार्मिक कार्य निरन्तर रुपले सञ्चालन गर्न आफ्नो सम्पत्तिको हक वा स्वामित्व हस्तान्तरण पनि हो, जसले गुठी स्थापना गर्छ वा राख्दछ, उसले सँगसँगै त्यस्तो सम्पत्तिमा आफ्नो हक Wave पनि गर्दछ । गुठीको सिर्जनासँगै व्यक्तिको हक समाप्त हुन्छ । गुठी व्यक्तिको हक समाप्त हुने र समूह, समूदाय वा सम्प्रदायको हक सिर्जना हुने प्रक्रिया भएकाले गुठी राख्नेले आफ्नो इच्छापत्र मार्फत व्यक्त इच्छालाई नमासिने गरी जोगाई निरन्तरता (perpetual continuity) प्रदान गर्नुपर्दछ जसले गर्दा धार्मिक सहिष्णुता कायम गर्न मद्दत पुर्‍याउँदछ।
धार्मिक सहिष्णुता धर्मकै पर्यायवाची शब्द हो, जहाँ धर्म छ त्यहाँ सहिष्णुता हुन्छ । जहाँ धर्म छैन, त्यहाँ असहिष्णुता हुन्छ, अराजकता हुन्छ, द्वन्द्व हुन्छ, हत्या हिंसा हुन्छ, अन्ततः महाविनाश हुन्छ ।
धर्म र संस्कृतिमा केही सूक्ष्म भिन्नता हुन्छ । संस्कृति देश, काल र परिस्थिति सापेक्ष हुन्छ भने धर्म यी सबै भन्दा माथि उठेको हुन्छ । संस्कृति क्रियाकलापपरक हुन्छ भने धर्म अनुभूतिपरक हुन्छ । संस्कृति समाज र इतिहासका विविध पक्षहरुको संगालो हो भने धर्म शाश्वत मूल्य, मान्यता र चिन्तनको विशाल पुञ्ज हो । यसरी गहिरिएर हेर्दा धर्म भनेको सेवा, उदारता, प्रेम, सहिष्णुता, शान्ति, सहअस्तित्व, अहिंसा, सदाचार आदि हो । त्यसैले पूर्वीय चिन्तकहरुले सेवा हि परमो धर्मः, अहिंसा परमो धर्मः, आचारः परमो धर्मः आदि भनी धर्मको व्याख्या गरेका छन् ।
नेपालको सुन्दरता भनेको धार्मिक जीवनशैली र संस्कृतिक सामाजिक व्यवस्था नै हो । धर्म र संस्कृति झिकिदिने हो भने नेपाल मानचित्रका हिसाबले जीवित रहन सक्छ तर वस्तुतः नेपाल ‘नेपाल’ नै रहँदैन । ‘नयाँ नेपाल’ को कुरा त झन् के गर्ने रु
बहुजाति, भाषा, संप्रदाय संस्कृति, रीतिस्थिति, परंपरा आदि नेपालका संपदा हुन् । तर संपदालाई सहीरुपमा बुझ्न सकिएन भने संपदा नै विपद्को कारण बन्न सक्छ । कैयौं देशमा भाषा, धर्म, संस्कृति र संप्रदायका नाममा भएका कलह अन्ततः युद्घमा परिणत भई आमूल नष्ट भएका इतिहासहरु हामीले पढेका छौं, सुनेका छौं र देखेका छौं । पशुपतिनाथ जस्तो सर्वाराध्य देवस्थलमा राजनीति हुनु, गाई काटिनु, तराईमा अतिवाद जन्मिनु, धर्मका नाममा सडकमा चर्का नारा सुनिनु आदिले आज नेपाली जनतालाई सन्त्रस्त र सशंकित बनाएको छ । धर्मनिरपेक्षताका नाममा सहिष्णुता र सद्भाव बढ्नुको सट्टा सयौं वर्षदेखि स्थापित धार्मिक सहिष्णुता, स्वतन्त्रता र सद्भाव झन् टुक्रिने पो हो कि रु भन्ने डर जागेको छ ।

पाटन कृष्ण मन्दिरको पर्खालमै जोडिएर बसेका मुस्लिम समुदायका पसलहरु र मुख्य सडकमै ठडिएका मस्जिदहरु, जनकपुरमा रहेको जानकी मन्दिर र सोको पछाडि रहेको मस्जिद नेपालका धार्मिक सहिष्णुताका प्रथम नमुना हुन् । मुसलमानले समेत छठ मनाउनु र हिन्दूहरुले इदमा मुबारक, शुभकामना साटासाट गर्नु नेपाली जीवनका अद्भुत विशेषता हुन् । यहाँका बच्चाबच्चीले समेत चर्च, मन्दिर, मस्जिद, गुम्बा आदि कुनै पनि धार्मिक स्थल देख्दा शिर निहुराउनु तथा कुनै पनि धर्मग्रन्थ, धर्मगुरु एवं अवतारमाथि आस्था राख्नु धार्मिक सहभावका उच्चतम दृष्टान्त हुन् । छिमेकी मुलुकहरुमा धर्मका नाममा भयानक कत्लेआम हुँदाहुँदै पनि नेपालमा शान्ति, सद्भाव र सम्मान कायम हुनु विश्वकै लागि एक सुन्दर सन्देश हो ।
नेपालमा बहुभाषा, धर्म, संस्कृति र पहिचान छ । बहुधार्मिक, सांस्कृतिक र बहुपहिचानयुक्त मुलुकमा वर्षौदेखि नेपाली मिलेर बसेका छन् । तर यो सद्भावमा केही समययता दखल पुर्‍याउने विभिन्न प्रयत्नहरु भइरहेका छन् । पछिल्लो समय सामाजिक एवं धार्मिक सद्भाव बिथोल्ने उदाहरण बनेर धरान उभिएको छ। यसअघि यस्तै धार्मिक सद्भाव खलबल्याउने प्रयास नेपालगन्जमा पनि भएको थियो । तर यतिबेला हिन्दु र गैर हिन्दुबीचमा द्वन्द्व सिर्जना गरेर धरानलाई अशान्त बनाउन खोजिरहँदा त्यहाँ धार्मिक सद्भाव र सहिष्णुता कायम गराउन विभिन्न वर्ग, क्षेत्र, समुदाय, राजनीतिक नेतृत्वबाट पनि प्रयत्न भइराखेको छ।
गुठी व्यवस्था नेपाल प्राचीनकालदेखि नै विभिन्न देवालय, शिवालय, मठ, मन्दिर, चैत्य, गुम्बा, पाटी, धर्मशाला, अनाथालय, पाकशाला आदिले भरिपूर्ण देशको रुपमा चिनिंदै आएको छ। यस किसिमका धार्मिक, साँस्कृतिक, शैक्षिक, सामाजिक, परोपकारी र स्वास्थ्य सम्बन्धी धरोहरहरुको स्थापना, निर्माण र सञ्चालनरव्यवस्थापनमा राज्य र निजीस्तरबाट समेत महत्वपूर्ण कार्यहरु हुँदै आएका छन् । देवालय, शिवालय लगायतका धार्मिक प्रतिष्ठानहरु खडा गर्ने, तिनको रेखदेख र सञ्चालन गर्ने, दीर्घकालसम्म सञ्चालन र व्यवस्थापनमा सघाउ पुर्‍याउने उद्देश्य राखी चल अचल सम्पत्तिको जोहो गरी गुठी खडा गर्ने प्रचलनको शुरुआत लिच्छवीकालदेखि हुँदै आएको पाइन्छ ।
लोककल्याणको भावनालाई केन्द्रमा राख्न अभिप्रेरित भई समाजले सामूहिक रुपमा गुठीहरुको स्थापना र सञ्चालन गरेको पाइन्छ । यस्ता गुठीहरु प्रायः धार्मिक, परोपकारी, सामाजिक र मानवीय पक्षलाई दृष्टिगत गरी सञ्चालनमा रहेका छन् । धर्मपरायण नेपाली समाजमा यस्ता गुठीहरुको सामाजिक–साँस्कृतिक भूमिका महत्वपूर्ण रहिआएको छ । नेपाली समाजमा विद्यमान यस्ता परम्परालाई जीवित राख्दै एकातिर धर्म र सँस्कृतिको संरक्षण गर्न सकिन्छ भने र अर्कातर्फ समाज र राष्ट्रको उत्थान गर्ने महान् उद्देश्यलाई पूरा गर्न सकिन्छ ।

गुठी परम्परालाई नेपालको मौलिक सम्पदा, संस्कृति सामुदायिक पूँजीको रूपमा लिन सकिन्छ । जसको कारण नेपाल विश्वभर चिनिएको छ । संस्कृति, मौलिक सम्पदा देशको अस्तित्वसित गाँसिएको हुनाले गुठी संस्कृतिलाई संरक्षण र संवर्द्धन गर्न सरकारले संस्कृतिविद्, गुठी सञ्चालक, गुठीयार र सरोकारवालाहरूसित छलफल चलाउनु जरुरी छ । समृद्धिको नारालाई सार्थक बनाउने हो भने नेपालको जीवन्त सम्पदा र सस्कृतिको जगेर्नामा गुठी परम्पराको मर्म बमोजिम ऐन बनाई कार्यान्वयनमा ल्याउनु पर्दछ । यसरी हेर्दा गुठी व्यवस्थाले धार्मिक सहिष्णुतामा उल्लेखनीय योगदान पुर्‍याएको देखिन्छ।
धर्म संस्कृति व्यक्ति एवं समाजको पहिचान हो । धर्म संस्कृतिद्वारा समाज निर्देशित र नियन्त्रित समेत हुन्छ । मानवले जन्मसँगै धर्म संस्कृतिलाई जीवनको अभिन्न अङ्गको रूपमा ग्रहण गरी आएको हुन्छ । धर्म संस्कृतिको धरोहरका रूपमा धार्मिक स्थल, धार्मिक गुठीहरू रहेका छन् । यी सम्पदा र सभ्यताको संरक्षण गर्नु नितान्त आवश्यक छ । परम्परादेखि चलिआएको प्रचलन, सम्पदा र सभ्यता व्यक्तिको जीवनको अधिकार (right to life) कै रूपमा रहन जाने हुन्छ। साँस्कृतिक, धार्मिक सम्पदाले इतिहास बोलिरहेका समेत हुन्छन् । यसबाट नै व्यक्ति एवं समाज अपनत्व, जिम्मेवारी, उत्तरदायित्व, नैतिकता, मानवीयता जस्ता तत्त्वले युक्त हुन जान्छ । धर्म, सम्पदा सभ्यताको संरक्षणबाट समाज अझ परिस्कृत हुन जान्छ । यसले समाजलाई संयमित एवं मर्यादित बनाउन मद्दत गर्छ, जुन काम गुठी संस्थानले जिम्मेवारीपूर्वक गरी आएको छ।

नेपाल एक बहुजातिय, बहुभाषिक, वहुधार्मिक, बहुसाँस्कृतिक विशेषतायुक्त राष्ट्र भएको र सबै धर्मालम्वीहरू, भाषा भाषीहरू एक आपसमा मिलेर बसिरहेको देश हो । अनेकतामा एकताको रूपमा छरिएर रहेका धार्मिक, भाषिक, साँस्कृतिक समूह नै नेपालको पहिचान भएको हुँदा यी समूह बीचको विवादको कल्पना पनि गर्न सकिँदैन । यस्ता पहिचानको अनन्तकालसम्म अस्थित्वको सुनिश्चितता गुठी व्यवस्थाले गर्न भएकोले सो व्यवस्थाको जगेर्ना गर्नु हामी सबैको जिम्मेवारी हो।
नेपाली संस्कृति र सभ्यताको निधिको रुपमा रहेका हाम्रा ऐतिहासिक तथा धार्मिक स्मारकहरु, पुरातात्विक स्थलहरु, कलात्मक तथा पुरातात्विक वस्तुहरु, धार्मिक नाँच, जात्रा, रितिरिवाज तथा पर्वहरु सबैको संरक्षण गर्नु आजको मूल आवश्यकता हो । हाम्रो देशको भौतिक तथा सांस्कृतिक सम्पदाहरुको रुपमा रहेका वास्तुकला, मुर्तिकला ऐतिहासिक वस्तुहरु, स्मारकहरु, निजी ऐतिहासिक घर भवनहरु तथा अभिलेखहरुले तत्कालीन जीवनशैली र संस्कृतिको परिचय दिएको हुन्छ । जसले सांस्कृतिक जीवन्तता कायम राखेको हुन्छ।
जाती, भाषा, धर्म र संस्कृतिको हिसाबले नेपाली समाज विविधता युक्त रहेको छ । हाम्रा समृद्ध मूर्त र अमूर्त सम्पदाहरु राष्ट्रिय एकता सवलीकरण गर्ने माध्यमका रुपमा रहेका छन्। पर्व पूजा जात्रा जस्ता मौलिक अमूर्त सांस्कृतिक सम्पदाहरुले धार्मिक एवं सामाजिक एकता कायम गराउन ठूलो भूमिका खेलेको छ । रातो मच्छिन्द्रनाथको जात्रा, सेतो मच्छिन्द्रनाथको जात्रा, ईन्द्रजात्रा, विष्केटजात्रा, गाईजात्रा, घोडेजात्रा, पुलुकिसिको जात्रा, गंगामाई जात्रा, शिवरात्री, विवाह पञ्चमी, नवरात्री, झुला पर्व, मनकामनाको पर्व, पशुपति महास्नान खुल्ला होम पर्व लगायतका असंख्य जात्रा पर्वहरुले विभिन्न जातजाति, धर्म संस्कृति एवं समाज र राष्ट्रको पहिचान र एकतालाई बलियो बनाउने काम गरेको छ। परम्परागत संस्कृतिको जगेर्ना गरी भाषा र संस्कृतिको मौलिकतालाई अक्षुण्ण राख्दै ऐतिहासिक, पुरात्तात्विक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण मार्फत विविधतामा एकता नेपाली समाजको विशेषता भन्ने तथ्यलाई आत्मासात् गरी राष्ट्रिय एकता र अखण्डतालाई मजबुत बनाउन गुठी संस्थानले अहम् भूमिका निर्वाह छ ।
सनातनदेखि मानिआएका धर्म संस्कृति अनुरुपका पूजापाठ, जपतप, योगध्यान आदिको माध्यमबाट धार्मिक इच्छा परिपूर्ति गर्न, मानिसलाई अनुशासित र नैतिकवान बनाई राख्न र धर्म संस्कृतिलाई पछिसम्म निरन्तरता दिई धार्मिक पर्यटनको माध्यमबाट देशको अर्थतन्त्रमा टेवा पुर्‍याउने कार्यमा गुठी संस्थानले उल्लेखनीय भूमिका निर्वाह गरिरहेको छ। संस्थानको भूमिका धार्मिक सहिष्णुताको एक अनुपम उदाहरण हो ।
नेपालको धर्म र प्रथाको पर्यायवाचीको रुपमा रहेको गुठी व्यवस्था शताब्दीयौंदेखि नेपाली जनजीवनमा राष्ट्रको मूल धर्म र यसभित्र अन्योन्याश्रित संस्कृतिका आधारहरुलाई जीवन्त राखी युगौयुगान्तरसम्म कायम गराउने क्षमता राख्ने व्यवस्था हो । समाजको हित हुने काममा समर्पित बन्न गुठीले दिएको प्रेरणा सर्वकालीन महत्वको र अनुकरणीय छ । नेपालमा समाजसेवाको थालनी गुठी व्यवस्थाबाट भएको पाइन्छ। समाजपयोगी कतिपय कार्यहरु गर्न वा गरेर गुठी राखिएका पाईन्छन्। पातलो बस्ती, यातायातको कुनै साधन नभएको वेला पट्यारलाग्दो बाटोघाटोहरुमा पाटी, पौवा, सत्तल, धर्मशाला बनाउने, पानीको अभाव भएको ठाउँमा पिउने पानीको बन्दोवस्त गर्ने, खोलानाला तर्न साँघुपुल बनाउने, असक्त तथा आश्रयहीनहरुलाई सदावर्त सिधा वाँड्ने जस्ता कार्यका लागि गुठी व्यवस्था सामाजिक सेवाको एउटा अनुक्रम हो। जसलाई गुठी संस्थानले निरन्तरता एवं व्यवस्थित गर्दै आएको छ । धार्मिक, सांस्कृतिक परम्परा, मूल्य र मान्यताहरु जोगाउन गुठी संस्थानले दिएको योगदान सदासर्वदा महत्वपूर्ण रहेको छ।

गुठी राख्नेहरुको सात पुस्तासम्मको कुलको उद्धार हुन्छ भन्ने मान्यता रहेको र गुठीको प्रतिफल समाजको वृहत्तर हितको निमित्त उपयोगी भएको कारणले नै लिच्छवी, मल्ल र शाहकालमा गुठी प्रथाले उच्च स्थान प्राप्त गरेको थियो । गुठीको सम्पति लुकाई छुपाई बेचविखन गर्नेलाई केवल पजनी र गुठीयार हुने पालोबाट हटाउने व्यवस्था रहेको कारणबाट राष्ट्रको धर्म संस्कृतिको उत्थान र पतन सम्भव भएको हुनाले गुठीप्रति सावधानीपूर्वक निगरानी राख्नुपर्ने देखिन्छ । जसले गर्दा गुठी प्रणाली राष्ट्रको उत्थानसँग सम्बन्ध राख्दछ ।
गुठी व्यवस्थाका कारण नेपालमा हालसम्म धार्मिक सांस्कृतिक चहलपहल भएको पाईन्छ । गुठी व्यवस्थाले सबै समुदायको सामाजिक सांस्कृतिक र धार्मिक मूल्य मान्यताको कदर संरक्षण र सम्मान गर्दै राष्ट्रिय एकता प्रवर्द्धन गर्ने सांस्कृतिक परिभाष्य निर्माण गरेको छ। परम्परागत संस्कृतिको जगेर्ना गरी भाषा र संस्कृतिको मौलिकतालाई अक्षुण्ण राख्दै ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण र सम्बर्द्धन गरी असल संस्कृतिको अभ्यास, सांस्कृतिक सहिष्णुता र सहअस्तित्व मार्फत सामाजिक सद्धभाव कायम गर्न गुठी संस्थानले हमेशा योगदान पुर्‍याइरहेको हुन्छ ।

सर्वजन हिताय र सर्वजन सुखाएको मान्यताबाट अभिप्रेरित भई राखिएको गुठीलाई समुदायले आफ्नो ठान्ने, सबैको प्रयासबाट त्यसको प्रभावकारी उपयोग गरिने र दुरुपयोग हुन नदिने हुँदा गुठी सम्पदाको सुनिश्चतता गरी गुठीको जग्गाको संरक्षण राज्य र समुदायकै दायित्वभित्र पर्दछ । लोककल्याणका लागि सबैले धार्मिक आस्था राखी अनुष्ठान गर्न पाउने गरी पूजाआजा चलाउन, साधुसन्तहरुको लागि सिधा सदावर्त चलाउन र मन्दिर भत्केरविग्रेमा मर्मत संहार गर्ने पवित्र उद्देश्यले समुदायकै हित एवं कल्याणको लागि गुठी राखिएको हुन्छ। दाताले आफ्नो चल अचल सम्पति वा आयस्ता वा सम्पतिमा आफ्नो हक छाडी सार्वजनिक हितका लागि समर्पण गर्ने हुँदा गुठी भनेको कुनै सामाजिक वा धार्मिक कार्य निरन्तर रुपले संचालन गर्न आफ्नो सम्पतिको हक छोडी हस्तान्तरण गर्ने कार्य पनि हो । गुठीबाट व्यक्तिको हक समाप्त हुने र समूह समुदायको हक सिर्जना हुने प्रकृया भएकाले गुठी राख्नेले आफ्नो ईच्छापत्रमार्फत व्यक्त गरेको इच्छालाई नमासिने गरी जोगाई निरन्तरता दिनु समुदाय र राज्यको कर्तव्य हो । गुठी भनेको कुनै एउटा धार्मिक सम्प्रदाय वा सांस्कृतिक समुदायसंग मात्र सम्बन्धित विषय होईन । यो त एउटा पद्धति र प्रकृया हो । यसमा मेरो भनिएको बस्तुलाई हाम्रोमा परिणत गरिएको हुन्छ । दाताले आफ्नै समूदायको हितलाई मध्यनजर राखी तथा सार्वजनिक प्रयोगमा उपभोग गर्ने गरिदिन्छ। जसले धार्मिक उन्नति, सांस्कृतिक जर्गेना तथा सामाजिक उपभोगका लागि आफ्नो सम्पति समर्पण गरेको हुन्छ। निश्चित उद्देश्य राखेर अर्पण गरिएको सम्पति त्यही उद्देश्य प्राप्तिमा उपयोग गरिनुपर्छ । गुठी सम्पदा, गुठी संस्कृति र त्यसमा जोडिएको मूल्य मान्यताहरुमा चोट पुग्नु भनेको समाज र राष्ट्रको लागि ठूलो नोक्सानी हो। तसर्थ गुठी सम्पदाको संरक्षणबाट नै धार्मिक सहिष्णुता कायम राख्न सकिने कुरामा दुई मत हुन सक्दैन।
धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं भावनात्मक एकता सामाजिक न्याय, सुशासन कायम गर्दै सामाजिक सद्भाव, आपसी अन्तर्घुलन कायम गरी राष्ट्रिय लक्ष्य हासिल गर्न र समृद्धिको दिशामा अगाडि बढ्न गुठी परम्पराले महत्वपुर्ण योगदान पुर्‍याइरहेको हुँदा यस्ता सम्पदा एवं मूल्य मान्यताको जगर्ना एवं निरन्तरताको सुनिश्चित गर्नु आजको टड्कारो आवश्यकता हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी