शेयर बजारको आम्दानीबाट कलेजको शुल्क तिर्दै विद्यार्थी

शेयर बजारको आम्दानीबाट कलेजको शुल्क तिर्दै विद्यार्थी

  • बुधबार, मंसिर १३, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

नेपालगञ्ज, १३ मङ्सिर : बाँकेका विभिन्न कलेजमा अध्ययन गर्ने विद्यार्थीले शेयर बजारबाट आम्दानी गरेर शुल्क तिर्न थालेका छन् । खासगरी कलेजको व्यस्थापन सङ्कायको स्नातक तहका विद्यार्थीले शेयरमा लगानी गरेर मनग्य आम्दानी गर्न थालेको उनीहरू बताउँछन् ।

“हामीले प्राथमिक बजार (आइपिओ) मा लगानी गर्न सिकेर दोस्रो (सेकेन्डरी) बजारमा पनि लगानी गरेका छौँ,” नेपालगञ्जको अल्पाइन व्यवस्थापन कलेजका स्नातक तहका विद्यार्थी पारश तिमिल्सिनाले भन्नुभयो । उहाँले साथीहरू र गुरुको माध्यमबाट शेयर बजारको अध्ययन गरेर बजारको प्राथमिक र सेकेन्डरी बजारमा प्रवेश गरेको उल्लेख गर्दै आफू अहिले पनि नाफामा रहेको बताउनुभयो ।

“आवश्यक खर्च शेयर बजारबाट आएको छ”, तिमिल्सिना भन्नुहुन्छ । रु एक हजार लगानी गरेर शेयर बजारको प्राथमिक बजारमा प्रवेश गर्नुभएका तिमिल्सिनाले घरबाट आउने खाजा खर्च, शुल्कको पैसा र प्राथमिक बजारबाट गरेको आम्दानीको स्रोतको सदुपयोग गरेर अहिले करिब रु दुई लाखको पोर्टफोलियो बनाएको जानकारी दिनुभयो ।

“हाम्रो कलेजका धेरै साथीले शेयर बजारमा लगानी गर्नुभएको छ त्यसमा पनि हाम्रो क्लासका २० प्रतिशत साथीले दोस्रो बजारमा पनि लगानी गर्नुभएको छ”, तिमिल्सिनाले भन्नुभयो । तिमिल्सिना एक वर्षदेखि शेयर बजारको प्राथमिक र दोस्रो बजारको कारोबारी हुनुहुन्छ ।

अर्का लगानीकर्ता विकास भट्टराई विद्यार्थीकालदेखि शेयर बजारमा लगानी गरेर सफल व्यवसायी हुनुभएको छ । दश जोड दुईको अध्ययन गर्दादेखि नै शेयर बजारमा लगानी गर्नुभएका भट्टराईले शेयर बजारमा लगानी गर्न थालेको दश वर्ष बितेको छ । व्यवस्थापन सङ्कायमा अध्ययन गर्नुभएका उहाँले शेयर बजारको स्वअध्ययन र अङ्गे्रजसँग सिकेर बजारमा छिरेको बताउनुभयो । “अहिले म शेयर बजारको शिक्षा प्रदान गर्ने ठाउँमा पुगेको छु”, उहाँले भन्नुभयो ।

भरोसा म्यानेजमेन्ट कन्सल्टेसीका प्रमोटरसमेत रहनुभएका भट्टराई स्वअध्ययन गरेर मात्रै छनोट गरिएका कम्पनीमा लगानी गर्न सुझाव दिनुहुन्छ । “जति यसमा रिवार्ड छ, त्यति नै रिस्क पनि छ”, उहाँ भन्नुहुन्छ ।

इम्पेरियल सेक्युरिटिज कम्पनी लि (४५) नं ब्रोकर कार्यालय नेपालगञ्जका प्रमुख उदय अधिकारीले व्यवस्थापन सङ्कायको स्नातकतहका अधिकांश विद्यार्थी शेयर बजारप्रति आकर्षित भएको जानकारी दिँदै उनीहरूले शेयर बजारबाट आएको आम्दानी कलेजको शुल्कलगायत काममा खर्च गरेको बताउनुभयो ।

विद्यार्थीले रु एक सयमा खरिद गरेको शेयर रु दुई सयमा बेचेर पनि नाफा सुरक्षित गरेको उल्लेख गर्दै अधिकारीले वैदेशिक रोजगारमा रहेका र केही गृहिणीले समेत बजारमा लगानी गरेको जानकारी दिनुभयो ।

“विद्यार्थीका लागि शेयर बजार आम्दानीको भरपर्दो स्रोत बनेको छ”, अधिकारीले भन्नुभयो । शेयर बजारमा लगानी गर्न बाँकेबाहेक बर्दिया, सुर्खेत, जाजरकोट, रोल्पा, रुुकुम, हुम्ला, जुम्ला, सल्यानलगायत जिल्ल्लाबाट लगानीकर्ता नेपालगञ्ज आउने गरेका छन् ।

अधिकारीले शेयर बजारको प्राथमिक शेयर धेरै जारी भएकाले पैसा होल्ड भएर त्यसको प्रभाव बजारमा पनि परेको हुन सक्ने भन्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालमा जस्तो आइपिओ जारी गर्ने प्रचलन नभएको बताउनुभयो । “बाहिरको बजारमा सबैले यहाँजस्तो आइपिओ हाल्ने चलन छैन र बोनस शेयरको चलन पनि छैन”, उहाँले भन्नुभयो ।

अधिकारीले केही लगानीकर्ताले एकै दिन रु ५० लाखसम्म लगानी गरेको जानकारी दिँदै अहिले औसतमा दैनिक रु एक करोड ४५ लाखको शेयर कारोबार भएको बताउनुभयो । करिब ३५ हजार लगानीकर्ता भएको एम्पेरियलमा २७ हजार सक्रिय लगानीकर्ता भएको बताइएको छ । यसबाहेक कालिका सेक्युरिटिज प्रालिले पनि नेपालगञ्जमा शेयर कारोबार गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी