पढ्दै कमाउँदै : विद्यार्थी फूलखेतीमा रमाउँदै

पढ्दै कमाउँदै : विद्यार्थी फूलखेतीमा रमाउँदै

  • आइतवार, कार्तिक १९, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

दमौली, १९ कात्तिक : तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सयपत्री फूलखेती गरेका छन् । ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत विद्यालयमा वनस्पति विज्ञान अध्ययनरत विद्यार्थीले सयपत्री फूलखेती गरेका हुन् ।

विद्यालयमा डिप्लोमा तेस्रो वर्षमा अध्ययनरत अनुप राना मगर, सामेल पौडेल, शरण विक र सुमन मगरले विद्यालयको आठ रोपनी जग्गामा सयपत्री फूलखेती गर्नुभएको हो । यहाँ दुई प्रजातिका फूल रोपिएको थियो । कर्मा पाँच सय ५५ र टिटी प्रजातिका फूल रोपिएकोमा सबै फूल बिक्रीका लागि तयार भएको विद्यार्थी पौडेलले जानकारी दिनुभयो । पौडेलले भन्नुभयो, “हाम्रो प्रयोगात्मक र ‘ओजिटी’ अन्तर्गत सयपत्री फूल उत्पादन गरेका हौँ, यसका लागि गाउँपालिकाले हामीलाई प्रोत्साहन ग¥यो ।”

यहाँ दश हजार फूल उत्पादन भएका छन् । विद्यार्थी विकका अनुसार तीन महिना अगाडि फूल रोपिएको थियो । त्यसक्रममा उहाँहरुले छ पटक फूलको गोडमेल गर्नुभएको थियो । “जग्गा जोत्ने, बिरुवा जमाउने, मल हाल्ने सबै काम हामीले नै गरेका छौँ”, उहाँले भन्नुभयो । फूलखेतीका लागि आँबुखैरेनी गाउँपालिकाले रु तीन लाख सहयोग गरेको थियो । विद्यार्थी विकका अनुसार आफूहरुको प्रयोगात्मक शिक्षण अन्तर्गत फूलखेतीका लागि गाउँपालिकाले प्रोत्साहन गरेकामा खुसी लागेको बताउनुभयो ।

उत्पादन भएका फूल बिक्री सुरु भइसकेको छ । पौडेलका अनुसार फूल खरिदका लागि फूलबारीसम्मै आउने गरेको जनाउँदै ठूलो सङ्ख्यामा बिक्रीका लागि पालिकासँग समन्वय गरिने बताउनुभयो । उहाँका अनुसार तिहारका लागि रु पाँच लाखको फूल बिक्री गर्ने योजना रहेको छ ।

माला रु तीन सयमा र फूल प्रति किलो रु एक सयमा बिक्री भइरहेको उहाँले बताउनुभयो । समय र मौसमका कारण कतिपय फूल छिटो फुलिदिँदा समस्या भएको जनाउँदै उहाँले समयको व्यवस्थापन गरेर मात्रै फूलखेती गर्नुपर्ने पाठ सिकेको बताउनुभयो । उहाँले भन्नुभयो, “फूल छिटो फुलेर समस्या हुने रहेछ, त्यसका लागि चिस्यान केन्द्रमा फूल राख्ने व्यवस्था मिलाएका छौँ ।

गाउँपालिकालाई फूलमा आत्मनिर्भर बनाउने उद्देश्यसहित यसै वर्षदेखि सयपत्रीको व्यावसायिक उत्पादनमा सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । उहाँका अनुसार मित्रता माध्यमिक विद्यालय, सोही वडाको यान्चोक आमा समूह र आँधीमूल आमा समूहमार्फत् सयपत्री फूलखेती सुरु गरिएको थियो ।

अहिले ३० हजार सयपत्री फूल फुलेको जनाउँदै यसको बजार व्यवस्थापनका लागि पालिकाले समन्वय गरेको चुमानले बताउनुभयो । “तिहारमा विदेशी प्लास्टिकका फूल तथा झिलिमिलीको सट्टा स्थानीयस्तरमा उत्पादित फूल प्रयोगमा जोड दिएका छौँ”, उहाँले भन्नुभयो, “यसका अतिरिक्त छिमेकी पालिकासँग पनि समन्वय गरी बिक्रीको व्यवस्था मिलाउँछौँ ।”

गाउँपालिकाले स्थानीयस्तरमा हुने कार्यक्रममा पनि सयपत्री फूलको माला प्रयोगमा जोड दिएको चुमानको भनाइ छ । उहाँले भन्नुभयो, “पालिकाभित्र हुने हरेक कार्यक्रममा कृत्रिम फूललाई विस्थापित गर्छौँ, यहीँ उत्पादित फूललाई प्रयोगमा ल्याउँछाँै ।” चुमानका अनुसार सयपत्री फूल प्रत्येक वर्ष विदेशबाट आयात हुँदै आएको छ । यसको आयत प्रतिस्थापन गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ ।

गाउँपालिकाले विद्यालयमा पढ्दै कमाउँदै र आमा समूहमा अध्यक्षसँग कृषि कार्यक्रममार्फत् फूलखेतीमा सहयोग गरेको थियो । आमा समूहमार्फत् गरिएको फूल पनि उत्पादन भई बिक्री सुरु भइसकेको छ । गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार तिहारमा सयपत्री फूल प्रतिकिलो रु पाँच सयसम्म बिक्री हुन्छ । अहिलेलाई भने स्थानीयस्तरमा किलोको रु दुई सयसम्म बिक्री हुने गरेको छ ।

त्यस्तै एउटा माला रु ८० सम्म बिक्री हुन्छ । दुई समूहबाट गरी यस वर्ष रु दश लाख बराबरको फूल बिक्री हुने अनुमान गरिएको छ । गाउँपालिकाले सयपत्री फूलखेतीलाई प्राथमिकतामा राखेर गाउँपालिका अन्तर्गतका सबै कार्यक्रममा सयपत्रीको मालालाई प्राथमिकता दिने निर्णय गरिसकेको छ । उहाँले भन्नुभयो, “फूलफुल्न थालेपछि पालिकाका हरेक कार्यक्रममा सयपत्रीको माला प्रयोग हुन्छ, आँधीमूलमा लाग्ने मेलामा पनि सयपत्री फूलले सहयोग पु¥याउँछ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी