एजेन्सी असोज २१ । ईजरायलको बाह्य क्षेत्रमा जासुसी गर्न खडा गरिएको संयन्त्र मोसाद असफल सावित भएको छ । ईरान सहित विभिन्न क्षेत्रमा सूचना पत्ता लगाई ड्रोन बाट आक्रमण गरेर कैयौ हत्या र विष्फोटहरु गराउदै आएको मोसादले गाजा क्षेत्रबाट यति ठूलो आक्रमण हुँदैछ हमासबाट भन्ने कुराको कुनै संकेत पाएको थिएन ।
शनिबार अचानक जमिन, हावा र समुन्द्रबाट ईजरायली सेनाको ब्यारेक कब्जा गर्दै हमासका लडाकु अघि बढेपछि ईजरायली सुरक्षाफौज चकित परेको थियो । गाजाको सीमामा रहेका ईजरायली नागरिकहरुले सैन्य ब्यारेक कब्जा गरेको, मान्छेको अपहरण गरेको र जथाभावी गोली चलाएको देखिएको बताएको ईजरायली सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यस हमलामा अहिले सम्म २५० जना ईजरायलीको मृत्यु भएको छ । यसमा केही सेना र सर्वसाधारण रहेको बताईएको छ । आक्रमणमा १ हजार बढी ईजरायली नागरिक घाईते भएका छन् ।
हमासले ३५ जना ईजरायली सेनालाई कब्जा गरेको दावी सहित भिडियो सार्वजनिक गरेको छ । अहिले सम्म ईजरायली सेनाले उनीहरुलाई मुक्त गर्न सकेको छैन ।
अहिले पनि दक्षिणी ईजरायलको विभिन्न भागमा हमासका लडाकु र ईजरायली सेनाबीच गोली हानाहान भईरहेको छ ।
ईजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्हुले आफूहरु युद्धमा रहेको घोषणा गरे लगत्तै ईजरायली सेनाले प्यालेष्टाईनको गाजा क्षेत्रमा ब्यापक हवाई आक्रमण गरेको छ । जसमा २ सय बढी प्यालेष्टाईनी नागरिकको मृत्यु भएको र १६ सय भन्दा बढी घाईते भएका छन् ।
ईजरायलले जवाफी कार्बाहीका लागि जागामा सैन्य अप्रेसनको तयारी गरेको छ । जसका लागि उसले गाजामा घर खाली गर्न सर्वसाधारणलाई अपील गरेको छ ।
हमासको यो कार्बाहीलाई उसले अल अक्स मस्जिदमा ईजरायलले गरेको दमनको बदला भएको बताएको छ । हमासले यो आक्रमण गर्नु र त्यसपछि उत्पन्न परिस्थितिका लागि ईजरायल जिम्मेवार भएको कतारले प्रतिकृया दिएको छ ।
उता ईजरायलको शत्रु राष्ट्र मानिएको ईरानको संसदमा हमासको कार्बाहीको पक्षमा नाराबाजी भएको छ ।
अमेरीकाले ईजरायलको पक्षमा उभिने बताएको छ भने अन्य देशहरुले ईजरायलको पक्षमा समर्थन गर्दै हमासको कार्बाहीको निन्दा गरेका छन् ।