रुसी प्राईभेट सैन्य कम्पनी बागनर समूहका प्रमुख येवगेनी प्रिगोजिन विमान दुर्घटनामा मारिएको आशंका गरिएको छ।
रूसको राजधानी मस्कोबाट सेन्ट पिटर्सबर्ग गइरहेको एउटा जहाज बुधबार राति दुर्घटनाग्रस्त भएको र त्यसमा येवगेनी प्रिगोजिन पनि सवार रहेको रूसी नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार उक्त जहाजमा प्रिगोजिनसहित सात जना यात्रु र चालक दलका तीन जना सदस्य थिए।
उक्त जहाज करिब आधा घन्टा उडेपछि जमिनमा खसेको र आगो लागेको थियो। अहिले सम्म ८ जनाको शब घटनास्थलमा फेला परेको रुसी अधिकारीहरुले जनाएका छन् ।
रूसका लागि युक्रेनसँग लडिरहेको वागनर समूहका प्रमुख प्रिगोजिनले गत असार महिनामा विद्रोह गरेपछि विवादमा परेका थिए । उनी पछि बेलारुस गएका थिए । उनी कहिले मस्को फर्किएका थिए भन्ने एकीन भएको छैन ।
वागनर समूह पहिलोपटक सन् २०१४मा पहिचान भएको थियो। यसले सन् २०२२ मा ठूलो संख्यामा सैन्य भर्ना गर्न थालेको थियो। यो समूहमा रहेका ८० प्रतिशत सैनिक जेलमा रहिसकेका व्यक्तिहरू हुन्। यस समुहले पूर्वी युक्रेनको बखमुट शहर कब्जा गरेर रुसी सेनालाई हस्तान्तरण गरेको थियो ।