९० बर्षको उमेरमा लौरो टेकेर किताब लिएर स्कुल जान्छन डाँगी

९० बर्षको उमेरमा लौरो टेकेर किताब लिएर स्कुल जान्छन डाँगी

  • मङ्लबार, भदौ ५, २०८०
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

तुलसीपुर, ५ भदौ । पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उहाँमा पढाइको भोक मरेन र अहिले उहाँ दैनिक विद्यालय जानुहुन्छ । कुनै समय घर–व्यवहारमा व्यस्त हुने डाँगी हिजोआज विद्यालयका बालबालिकासँग बित्छ ।

उहाँले पनातिसमेत देखिसक्नुभएको छ, तिनै पनातिजस्ता उमेरका विद्यार्थीसँग उहाँ कक्षा १ मा पढ्न थाल्नुभएको छ । चालु शैक्षिकसत्रदेखि उहाँले कक्षा १ को पढाइ सुरु गर्नुभएको हो । सोही वडाको वीरेन्द्र मावि भ्यूडहर सुनपुरमा उहाँ पढ्न थाल्नुभएको छ । उहाँ पढ्नकै लागि भमकेबाट एक घण्टा पैदल हिँडेर भ्यूडहर सुनपुर पुग्नुहुन्छ । “सानोमा पढ्न पाइनँ, गाउँमा पनि आफूसँग गफगाफ गर्ने साथी पनि भेटिएनन्”, उहाँले भन्नुभयो, “बुढेसकालमा भए पनि केही कुरा सिकौँ भनेर स्कुल पढ्न आएको हुँ ।”

घरमा पनि उहाँ नातिहरूसँग बस्दै आउनुभएको छ । उहाँकी श्रीमतीको विसं २०३२ मा निधन भयो । त्यसपछि उहाँ एकलरूपमा घरमा बस्दै आउनुभएको थियो । उहाँको जेठो छोराको पनि निधन भएपछि अहिले नातिसँग बस्दै आउनुभएको छ । नाति आफ्नो काममा व्यस्त हुने भएकाले घरमा एक्लै बस्नुभन्दा विद्यालय जान थालेको उहाँको भनाइ छ । उहाँले आफू बाँच्दासम्म पढिरहने बताउनुभयो । “सानोमा पढ्न नपाए पनि मेरो पढ्ने चाहना धेरै थियो”, उहाँले भन्नुभयो, “जे भए पनि मर्ने बेला केही अक्षर सिकेर मरौँ भन्ने मेरो चाहना हो ।”

उहाँ पढ्नमा पनि त्यति कमजोर हुनुहुन्न । कक्षा शिक्षक राजेन्द्रकुमार शर्माका अनुसार कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तै हुने भएकाले किताबमा भनेअनुसार लेख्न सक्ने भएको बताउनुभयो । “परिपक्व दिमाग भएर पनि होला, कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तो हुन्छ”, उहाँले भन्नुभयो, “त्यो पुस्तिकाअनुसार उहाँले लेख्न सक्नुहुन्छ ।” अङ्ग्रेजी अलि गाह्रो लाग्ने गरे पनि नेपाली भाषाका सबै किताबमा उहाँले राम्रोसँग पढ्न सकेको बताउनुभयो ।

उहाँजस्तो उमेरमा व्यक्ति विद्यालयमा पढ्न आउनुले समाजमा पढाइको महत्व झल्काएको विद्यालयका प्रधानाध्यापक टोपबहादुर घर्तीले बताउनुभयो । “उहाँ सुरुमा आउँदा अच्चम्म पनि लागेको थियो, तै पनि कक्षा १ मा भर्ना गर्यौँ”, उहाँले भन्नुभयो, “अहिले उहाँ आउँदा मान्छे बूढो भए पनि पढाइ बूढो हुँदैन भन्ने एउटा उदाहरण बन्नुभएको छ ।”

विद्यालयले उहाँलाई सम्मान गर्ने योजना बनाएको समेत प्रअ घर्तीले बताउनुभयो । उहाँ विद्यालयको गहना भएकाले सम्मान पनि गर्ने र नियमित विद्यालय आउँदा विद्यालय पोशाक लगाउनुपर्ने भएकाले विद्यालय पोशाक पनि किनिदिने योजना बनाएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी