चीनले प्रतिजासुसी कानुन लागू गरेसँगै अमेरिकासँगको सम्बन्ध थप कमजोर

चीनले प्रतिजासुसी कानुन लागू गरेसँगै अमेरिकासँगको सम्बन्ध थप कमजोर

  • आइतवार, साउन २८, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

चीनले प्रतिजासुसी कानुन कार्यान्वयन गरेसँगै अमेरिकासँगको सम्बन्ध ओरोलो लागेको छ । जासुसी गतिविधिको परिभाषा विस्तार गर्दै त्यसमा अमेरिकीलगायत सबै विदेशीमाथि नजर लगाउने विषय समेटिएको छ ।

गत जुलाई १ मा बेइजिङले आफ्नो प्रतिजासुसी कानुन संशोधन गरी त्यसलाई तत्काल कार्यान्वयन गरेपछि जासुसीलाई नै लिएर पहिलेदेखि बिग्रिएको सम्बन्धमा थप दरार सृजना भएको हो । विशेष गरी चीनमा लगानी गरेका धेरै अमेरिकी व्यवसायी नयाँ कानुनबाट आश्चर्यचकित भएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको निर्देशनमा प्रतिजासुसी उपायहरूलाई सुदृढ तुल्याउन कार्यान्वयनमा आएको नयाँ कानुनले नागरिकहरूलाई एकअर्काको जासुसी गर्न प्रोत्साहित गरेको छ । यसले अमेरिकी अधिकारीहरूका साथै विदेशी कम्पनी र व्यक्तिलाई पनि समेटेकाले अमेरिकी नागरिक र उनीहरूले चीनमा सञ्चालन गरेका व्यापार–व्यवसायको सुरक्षामा पर्ने प्रभावलाई लिएर चिन्ता व्यक्त गरेको छ ।

राष्ट्रिय सुरक्षासँग सम्बन्धित सूचना हस्तान्तरण, राष्ट्रिय सुरक्षा र जासुसीको परिभाषालाई अझ फराकिलो बनाइएको संशोधित कानुनले राष्ट्रिय महत्वका कागजात, तथ्याङ्क, सूचना–सामग्रीको सुरक्षा गर्दै जासुसी सङ्गठन र तिनका सहयोगीमाथि पनि प्रतिजासुसीको प्रावधान समावेश गरेको छ । संशोधित उक्त कानुन कार्यान्वयन भएपछि चीनमा रहेका अमेरिकीमात्र होइन चिनियाँहरू नै आफूमाथि जासुसी भइरहेको ठान्न थालेका छन् ।

संशोधित कानुनअन्तर्गत विदेशी नागरिक वा संस्थाहरूसँगको चिनियाँको साँठगाँठ, तिनले उक्साएको वा आर्थिक सहयोग उपलव्ध गराएको विदेशी वा स्वदेशी संस्था वा व्यक्तिहरूसँग मिलेर काम गरेकोमा दोषी ठहर गर्न सकिने, राज्यको गोप्य सूचना, तथा अन्य संवेदनशील विषय चोर्न, खोज्न वा प्राप्तिका लागि सङ्गठित संस्था वा व्यक्ति पनि लाग्नसक्ने भएकाले तिनमाथि पनि नजर राख्नु पर्ने व्यवस्था गरिएको छ । अनुसन्धानकर्ताले अब सम्बन्धित व्यक्ति र संस्थामाथि छानविन गर्न पाउनेछन् ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरका अनुसार अमेरिकी सरकारले चीनको प्रतिजासुसी पहल र त्यसपछि विकसित भएको परिस्थितिलाई नजिकबाट नियालिरहेको बताएका छन् । अमेरिकी नागरिक र चीनमा कार्यरत व्यवसायीको सुरक्षामा आशङ्का बढाएको उनले बताएका छन् । यो मुद्दालाई सम्बोधन गर्न र चीनमा अमेरिकी हितमा प्रतिकूल हुन नदिन कूटनीतिक प्रयास जारी रहने उनले उल्लेख गरेका छन् ।

चीनले प्रतिजासुसी कानुन लागू गरेपछि विदेश मन्त्रालयले आफ्ना नागरिकलाई चेतावनी दिँदै मुख्यभूमि चीनको यात्रामा पुनर्विचार गर्न आग्रह गरेको थियो । चीनमा स्थानीय कानुनको स्वेच्छाचारी कार्यान्वयनबाट नजरबन्द र गिरफ्तारीको जोखिम हुनसक्ने जनाउँदै मन्त्रालयले सकेसम्म चीनको भ्रमण नगर्न सुझाएको हो ।

अन्तरराष्ट्रिय कानुन र प्रचलित मान्यताहरूको सम्मान गर्न चिनियाँ अधिकारीहरूलाई आग्रह गर्दै विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पनि अमेरिकी चिन्तालाई सम्बोधन गर्न आग्रह गर्नुभएको थियो । गत जुनमा भएको बेइजिङ भ्रमाणका क्रममा उहाँले चीनमा रहेका अमेरिकी नागरिक र व्यवसायहरूको अधिकार तथा उनीहरूको सुरक्षाको प्रत्याभूति हुनुपर्नेमा जोड दिनुभएको थियो ।

चीनको रक्षा मन्त्रालयले लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म ‘वि च्याट’ मा प्रतिजासुसीको लागि सबैको परिचालन आवश्यक भएको घोषणा गर्दै राष्ट्रिय सुरक्षा र कानूनको शासनद्वारा परिभाषित शत्रुहरूबारे अरूलाई शिक्षा दिन नागरिकहरूलाई सक्रिय रूपमा सहभागी हुन आह्वान गरेको थियो ।

यसैबीच, चिनियाँ रक्षा मन्त्रालयले शुक्रबार एक विज्ञप्ति निकालेर अमेरिकी केन्द्रीय गुप्तचर निकाय ९सिआईए० को जासुसी प्रकरण पर्दाफास गरेको दाबी गरेको छ ।

अध्ययनको लागि इटाली गएका ५२ वर्षीय जेङ नामका चिनियाँ नागरिकले पैसा लिएर सिआईएलाई ‘गोप्य सूचना’ उपलब्ध गराएको बताएको छ । रोमस्थित अमेरिकी दूतावासमा रहेका सिआईए एजेन्टसँग मित्र बनेका उनलाई प्रलोभनमा पारेर जासुसी गतिविधि सञ्चालन गर्न प्रशिक्षणसमेत दिइएको रक्षा मन्त्रालयले जनाएको छ ।

जेङलाई जनमुक्ति सेनासम्बन्धी सूचना उपलव्ध गराउने सम्झौतामा हस्ताक्षर गराइएको तथा निजका परिवारलाई अमेरिकामा आवाससहित अन्य सुविधा प्रदान गर्ने प्रलोभन दिइएको विज्ञप्तिमा उल्लेख छ । यद्यपि उनलाई गरिएको सजायको विवरण भने त्यसमा समावेश गरिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी