पश्चिमी अफ्रिकी मुलुक नाइजरमा सैन्य कू भएको छ। त्यहाँको सेनाले राष्ट्रपति मोहामेद बाजोउमको सरकारलाई बर्खास्त गरिएको बताएको छ।
राष्ट्रपति बाजोउमलाई राष्ट्रपति कार्यालयमै नियन्त्रणमा लिएको केही घन्टापछि बुधबार सरकारी टेलिभिजनबाट सम्बोधन गर्दै कर्नेल अमाडोउ अब्ड्रामानेले नाइजरका प्रतिरक्षा तथा सुरक्षा निकायहरूले शान्ति सुरक्षाको अवस्था बिगारिरहेको र कुशासन चलाइरहेको बाजोउमको शासन अन्त्य गर्ने निर्णय गरेको बताए।
उनले नाइजरको अन्तर्राष्ट्रिय सीमा बन्द भएको, देशव्यापी संकटकाल घोषणा गरिएको र गणतन्त्रका सबै संस्थाहरू निलम्बन भएको पनि टेलिभिजनमा बताएका छन्।
सैनिकहरूले कुनै पनि प्रकारको विदेशी हस्तक्षेप स्वीकार्य नहुने र नियन्त्रणमा लिइएका बाजोउमको रेखदेख आफूहरूले गर्ने बताएका छन्।
भूपरिवेष्ठत मुलुक नाइजर सन् १९६० मा फ्रान्सेली उपनिवेशबाट स्वतन्त्र भएको थियो।
मुस्लिम अतिवादी समूहहरूको दबदबा रहेको अफ्रिकाको सहेल क्षेत्रमा पर्ने नाइजरमा बाजोउम सन् २०२१ मा राष्ट्रपति निर्वाचित भएका थिए। संयुक्त राज्य अमेरिका र युरोपियन युनियनले उक्त क्षेत्रमा शान्ति स्थापना गर्न नाइजरको सेनालाई ठूलो सहयोग गरेका थिए।
सोही क्षेत्रमा पर्ने माली र बुर्किनाफासोमा यसअघि नै सैनिक कू भइसकेका छन्।