चीनसँगको मुख्य नाका रसुवागढीमा आर्थिक तथा पर्यटकीय गतिविधि बढ्यो

चीनसँगको मुख्य नाका रसुवागढीमा आर्थिक तथा पर्यटकीय गतिविधि बढ्यो

  • बिहिबार, साउन ११, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

चीनसित जोडिएको उत्तरी नाका रसुवागढीमा पछिल्लो समय चहलपहल बढ्दै गएको छ । कोरोना महामारीपश्चात् आवतजावत बन्द भएको सो नाका गत चैत १८ गतेदेखि पुनःसञ्चालनमा आएपछि व्यापार तथा पर्यटकीय गतिविधि बढेको हो ।

सो नाका भएर नेपाल घुम्नका लागि चिनियाँ पर्यटकको आगमन सुरू भएको छ । नेपाल भित्रने चिनियाँ पर्यटकको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । नाका पुनःसञ्चालन पछि पाँच÷सात जनादेखि सुरू भएको पर्यटक आवागमन पछिल्लो समय दैनिक सरदरमा २५÷३० जना पुगेको छ । अध्यागमन कार्यालय टिमुरेका कार्यालय प्रमुख चूडामणि अर्यालका अनुसार चैत १८ गतेदेखि असार मसान्तसम्म दुई हजार आठ सय ३७ चिनियाँ पर्यटकले रसुवागढी मितेरीपुलबाट ओहरदोहर गरिसकेका र साउन महिनामा पनि आफ्ना निजी सवारीसाधनमार्फत चिनियाँ पर्यटक नेपाल भ्रमणमा आउनेक्रम जारी रहेको छ ।

तीन महिना १३ दिनको अवधिमा रसुवागढी नाकाबाट ४६ देशका नागरिकले नेपाल तथा चीनको भूभागमा ओहरदोहर गरिसकेको यसरी ओहरदोहर गर्नेको कूल सङ्ख्या पाँच हजार दुई सय ३६ महिलासमेत १० हजार छ सय ७७ जना रहेको बताइएको छ ।

कोरोना अवधिभर सुनसान रहेको रसुवागढी क्षेत्रबाट चिनियाँ पर्यटक नेपाल भित्रने र अन्यदेशका पर्यटक चीनतर्फ प्रस्थान गर्न थालेपछि त्यस क्षेत्रको रौनकता निकै बढेको छ । पर्यटकको आगमनले सीमा क्षेत्रका बासिन्दामा भने उत्साह बढ्दै गएको छ ।

रसुवागढी नाकाबाट रसुवाका बासिन्दा केरूङतर्फ जाने र चिनियाँ नागरिक पनि टिमुरे तथा स्याफ्रुबेँसी घुम्न आउने गरेका कारण दुई देशको सीमा क्षेत्रमा बसोबास गर्ने छिमेकी छिमेकी बीचको सम्बन्धसमेत थप प्रगाढ बन्दै गएको स्थानीय बासिन्दाले जनाएका छन् ।

सीमा क्षेत्रका बासिन्दाका लागि रसुवा–केरूङ ओहरदोहर गर्न प्रदान गरेको सीमा परिचयपत्रको विवरणसमेत सार्वजनिक भएको छ । गैररसुवालीलाई सीमा क्षेत्रका बासिन्दासरहको परिचयपत्र दिएको भनी स्थानीयबाट चर्को विरोध आएपछि वास्तविकतामाथि प्रष्ट पार्दै अध्यागमन कार्यालय टिमुरेले एक सय ५० जनालाई परिचयपत्र प्रदान भएको राससलाई पहिलो विवरण उपलब्ध गराएको हो ।

बसाइँ सरी आएको कागजाँचका आधारमा गत चैत १८ गतेदेखि असारको पहिलो हप्तासम्म ४१ वटा नयाँ परिचयपत्र जारी भएको, ३३ जनालाई प्रतिलिपि प्रदान गर्नुका साथै ७६ वटा नवीकरण भएको अध्यागमन कार्यालयले जनाएको छ ।

विसं २०७२ पश्चात् भेटिएको तथ्याङ्कअनुसार हालसम्म नयाँ जारी, प्रतिलिपि एवं नवीकरण गरिएकोसमेत समग्रमा तीन हजार तीन सय ३३ जनाले सीमा परिचयपत्रको सुविधा लिएको उक्त कार्यालयले जनाएको छ ।

भूकम्पकाले रसुवागढीमा रहेको अध्यागन कार्यालय पूरै दबिएका कारण त्यसभन्दा अगाडिका अभिलेख नष्ट भइसकेको जनाइएको छ । रसुवागढी क्षेत्रमा सवारीसाधनको चाप र पर्यटकको आगमन बढेसँगै सुरक्षा कार्यमा थप मजबुत पारिएको सुरक्षाकर्मीले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी