३० असार, विराटनगर । इटहरी उपमहानगरपालिकाले छात्रवृत्ति विवरण नबुझाउने निजी विद्यालयलाई एक लाख रुपैयाँसम्म जरिवाना तिराउने निर्णय गरेको छ ।
शिक्षा शाखाको बैठकले १५ वटा निजी विद्यालयलाई जरिवाना तिराउने निर्णय गरेको हो । जसमा १० वटा आधारभूत र ५ वटा माध्यमिक विद्यालय रहेका छन् ।
बैठकले आधारभूत तहका विद्यालयलाई ५० हजार र माध्यमिक विद्यालयलाई १ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको हो ।
नगरप्रमुख हेमकर्ण पौडेलका अनुसार छात्रवृत्ति विवरण नबुझाउने आधारभूत तहका विद्यालय जेलिन मन्टेश्वरी स्कुल, किड्स ग्लो मन्टेश्वरी, पिस एण्ड हर्ट इङ्लिस बोडिङ् स्कुल, पोल्सान मन्टेश्वरी स्कुल, सृजना किण्डर गार्टेन मन्टेश्वरी र हेप्पील्याण्ड चाईल्ड डे केयर, इन्द्रेणी स्कुल, इटहरी नमुना स्कुल, शुनाखरी विद्या मन्दिर र जानकी मन्टेश्वरी स्कुललाई प्रति विद्यालय ५० हजारका दरले जरिवाना तिराउने निर्णय भएको हो ।
माध्यमिक विद्यालयतर्फ गोल्डेन फ्यूचर इङ्लिस बोडिङ् स्कुल, इटहरी चिल्ड्रेन स्कुल, इटहरी मोडल सेकेण्डरी स्कुल, ह्वाइट सोल एकेडेमी र लिटल केयर बोडिङ स्कुललाई एक लाख रुपैयाँका दरले जरिवाना तिराउने निर्णय भएको हो ।
नगरप्रमुख पौडेलले छात्रवृत्ति विवरण नबुझाउने विद्यालयलाई सात दिनभित्रमा जरिवाना तिर्न पत्राचार गर्ने निर्णय भएको बताए । यसअघि उपमहानगरपालिकाले तीनपटकसम्म छात्रवृत्ति विवरण बुभाउनका लागि सूचना जारी गरेको थियो ।