एजेन्सी जेठ २२ । युक्रेनी सेनाले रुसी सेना बिरुद्ध पाँच दिशाबाट भीषण हमला गरेको छ । ठूलो स्केलको आक्रमण भएको रुसी सेनाले बताएको छ । रुसी रक्षा मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी युक्रेनी सेनाले डोनेस्क र लुहान्सक ईलाकामा ठुलो आक्रमण गरे पनि त्यसलाई असफल पारिएको बताएको छ ।
ती सबै हमलाहरुलाई विफल पारिएको र रुसी सेनाको अग्रमोर्चालाई तितरवितर पार्ने कोशिस विफल भएको मन्त्रालयले बताएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमोर जेलेन्सकीले कुनै पनि बेला रुस बिरुद्ध प्रत्याक्रमण शुरु हुन सक्ने संकेत दिए लगत्तै युक्रेनी फौजले हमला गरेको थियो ।
रुसी सेनाले प्रत्याक्रमणमा उत्रिएका युक्रेनकी फौजका २५० जवान, १६ वटा ट्यांक, २४ वटा सैन्य वाहन नष्ट पारेको पनि दावी गरेको छ । रक्षा मन्त्रालयले रुसी सेनाले युकेनी वाहन र टैंकमाथि आक्रमण गरी नष्ट पारेको भिडियो समेत रिलिज गरेको छ ।
पश्चिमाहरुले उपलव्ध गराएको घातक हतियारको मद्धतमा युक्रेनले डोनबास क्षेत्रबाट रुसी सेनालाई खेदेरै छाड्ने भन्दै प्रत्याक्रमण गर्ने बताउदै आएको थियो ।