चैत्र २१ काठमाण्डौँ । विश्वव्यापी कोरोना महामारीका कारण थला परेको नेपालको पर्यटन क्षेत्रमा निरन्तर सुधार हुँदै जान थालेको छ । कोरोना काल यता मार्च महिनामा करीब एक लाख पर्यटक नेपाल भित्रिएका छन् ।
सन् २०२३ मार्चमा ९९ हजार ४२६ जना पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ । कोरोनाअघि, सन् २०१९ मार्चमा १ लाख ९ हजार पर्यटक आएका थिए ।
यस वर्ष जनवरीमा ५५ हजार र फेब्रुअरीमा ७३ हजार पर्यटक आएका थिए।
मार्चमा भारतबाट झन्डै २६ हजार, अमेरिकाबाट साढे नौ हजार, बेलायतबाट ६ हजार, जर्मनी र थाइल्यान्डबाट चार–चार हजार, श्रीलंका, फ्रान्स र अस्ट्रेलियाबाट तीन–तीन हजार पर्यटक आएका छन्। त्यस्तै चीन र दक्षिण कोरियाबाट साढे दुई–साढे दुई हजार पर्यटक आएका छन्।
बोर्डका अनुसार पर्यटकीय सिजन सुरू भएसँगै आगमन बढेको हो। पर्यटनका लागि अंग्रेजी महिनाअनुसार वर्षमा दुइटा सिजन हुन्छन्। विदेशी पर्यटकका लागि पहिलो सिजन मार्च, अप्र्रील मे र दोस्रो सिजन अक्टोबर , नोभमेम्बर र डिसेम्बर भएकाले नेपालमा आगामी दिनमा अझ धेरै पर्यटक आउने विस्वास गरिएको छ ।
हिमाल चढ्ने, ट्रेकिङ गर्ने, हिम श्रृखलाको अवलोकन गर्ने जस्ता गतिविधिमा पर्यटकहरुको रुची रहने गरेको छ ।
सिजनमा पर्यटक आगमनले व्यवसायीहरू उत्साहित छन्। लामो समयदेखि थलिएको पर्यटन क्षेत्र अब पुरानै अवस्थामा फर्किन थालेको छ ।
सरकारले यो सिजनका लागि हिमाल आरोहण अनुमति खुलाइसकेको छ। हाल मुलुकका कुल चार सय १४ वटा हिमाल आरोहणका लागि खुला छन्। पर्यटन विभाग र नेपाल पर्वतारोहण संघले छुट्टाछुट्टै हिमालका लागि आरोहण अनुमति दिने गर्छन्। हालसम्म विभाग र संघमार्फत एक हजार जनाले विभिन्न हिमाल चढ्न अनुमति लिइसकेका छन्।
पर्यटन विभागले ६ हजार ५ सयभन्दा माथिका हिमाल आरोहणका लागि अनुमति दिन्छ। विभागबाट हालसम्म ५३ जना महिला र दुई सय ७० जना पुरूष गरी कुल दुई सय ७० जनाले विभिन्न हिमाल चढ्न अनुमति लिइसकेका छन्।
चीनले गत मार्च १५ देखि आफ्ना नागरिकलाई विदेश घुम्न खुला गरेको छ। उसले घुम्नैपर्ने देशको सूचीमा नेपाललाई पनि समावेश गरेको छ। यसले आगामी दिनमा हामीकहाँ चिनियाँ पर्यटक बढ्ने देखिन्छ । चैत्र १८ गतेदेखि चीन नेपाल जोड्ने महत्वपूर्ण रसुवागढी केरुङ नाका पूर्ण रुपमा सञ्चालनमा आएकाले स्थलमार्गबाट पनि चीनीया पर्यटक नेपाल भित्रन शुरु गरेका छन् । मे महिनामा तातोपानी नाका पनि पूर्ण रुपमा खोल्न चीन तयार भएकाले सो मार्गबाट पनि चीनीया पर्यटक आउने अनुमान गरिएको छ ।
समग्रमा पर्यटकहरुको आगमन बढ्दा पर्यटनसँग सम्बन्धित ट्रेकिङ, टुर, होटल जस्ता क्षेत्रमा व्यवशाय बृद्धि हुने छ भने देशमा विदेशी मुद्राको सञ्चिति र राजस्व समेत बृद्धि हुनेछ । यसले अर्थतन्त्रमा देखिएको चूनौती सामना गर्न मद्धत पुग्ने छ ।