फागुण २७ काठमाण्डौँ । यस अघि निरन्तर संकटतर्फ उन्मुख भएको नेपालको अर्थतन्त्रमा निरन्तर सुधारको संकेत देखिएको छ ।
पछिल्लो पाँच महिनामा शोधनान्तर स्थिति सकारात्मक बन्न पुगेको छ । पछिल्लो समय आयात खुकुलो पार्दा समेत सञ्चिती बढेको देखिन्छ । चालु आवको माघसम्म देशको शोधनान्तर स्थिति १ खर्ब ३३ अर्ब २१ करोड रुपैयाँले रुपैयाँले सकारात्मक छ । कोभिड महामारीको असर एवम् लगत्तै शुरु भएको रुस युक्रेन युद्धको असर स्वरुप गत आवमा नेपालको बाह्य अवस्था एकदमै खराब अवस्थामा थियो ।
राष्ट्र बैंकको चालु आवको पछिल्लो ७ महिनाको तथ्यांक अनुसार देशको शोधनान्तर अवस्था क्रमशः सुधार हुँदै गएको छ । चालु आवको पहिलो महिना २२ अर्ब ६३ करोड रुपैयाँ, दोस्रो महिना २३ अर्ब ६८ करोड रुपैयाँले नकारात्मक रहेकोमा तेस्रो महिनादेखि सकारात्मक हुन थालेको हो ।
असोज महिनामा १२ अर्ब ४३ करोड रुपैयाँले सकारात्मक रहेको शोधनान्तर अवस्था कार्तिकसम्ममा आइपुग्दा २० अर्ब ३ करोड रुपैयाँ र मंसिर महिनासम्म पुग्दा ४५ अर्ब ८४ करोड रुपैयाँले सकारात्मक हुन पुगेको हो । चालु आवको पुसमा ९७ अर्ब १० करोड रुपैयाँ बचनमा रहेको शोधनान्तर स्थिति माघमा आउँदा थप सुधार भएर १ खर्ब ३३ अर्ब २१ करोड रुपैयाँ पुगेको हो । यसले नेपालको बाह्य अवस्था विस्तारै सुध्रिदै गएको संकेत गर्दछ ।
आयात खुला गरे पनि विदेशी मुद्रा सञ्चितिमा भने वृद्धि देखिएको छ ।
पुस मसान्तसम्म १० अर्ब ३० करोड अमेरिकी डलर विदेशी मुद्रा सञ्चिति रहेकोमा माघ मसान्त एक महिनाको अवधिमा २० अर्ब डलरले घटेर १० अर्ब ५० करोड डलर पुगेको छ ।
चालु आर्थिक वर्षको माघ मसान्तसम्म आउँदा रेमिट्यान्समा समेत बृद्धि देखिएको छ । नेपालबाट वैदेशिक रोजगारमा जानेको संख्यामा वृद्धि हुनु एवम् अमेरिकी डलरको मूल्य उच्च रहनु जस्ता कारणले पछिल्लो समय रेमिट्यान्स आप्रवाह समेत मासिक १ खर्बको हाराहारीमा भइरहेको छ।
चालु आवको माघसम्म आइपुग्दा ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँले रेमिट्यान्स भित्रिएको छ । मंसिर महिनादेखि हरेक महिना १ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिइरहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
सातौ महिनासम्म आइपुग्दा देशको कुल विदेशी मुद्रा सञ्चिति ९ अर्ब ५० करोड अमेरिकी डलर पुगेको छ । देशमा विद्यमान मुद्रा सञ्चितिले ९.४ महिनाको वस्तु तथा सेवा आयात गर्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।
माघ सम्म नेपाल भित्रिएका पर्यटकहरुबाट ३२ अर्ब २४ करोड रुपैयाँ आम्दानी गरे पनि नेपालीहरु विदेश भ्रमण एवम् अध्ययनको लागि भनेर ६२ अर्ब ५७ करोड खर्च गरेका छन् । नेपालको खुद सेवा आय ५५ अर्ब ९ करोडले घाटामा रहेको छ ।
यसै गरी चालु आवको ७ महिनासम्म १ अर्ब ४ करोड रुपैयाँ मात्रै वैदेशिक लगानी भित्र्याएको छ ।
यी सकारात्मक तथ्याकका बाबजुद देशमा औद्योगिक उत्पादन एवं निर्यातमा वृद्धि, कृषि तथा पर्यटन क्षेत्रमा सुधार र वैदेशिक लगानी भित्रयाउने कुरामा सकारात्मक पहल लिँदै रोजगारी सृजना र निर्यातमा वृद्धि गरेर मुद्रा स्फिति समेत नियन्त्रणमा नराखे अर्थतन्त्रमा निरन्तर जोखिम भने रहने छ ।