फागुण ६ काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टु मा शनिबार नेपाल ३ विकेटले विजयी भएको छ । आशिफ शेख र ज्ञानेन्द्र मल्लको कीर्तिमानी साझेदारी र कुशल मल्लको विस्फोटक अर्धशतकको मद्दतमा नामिबियालाई ३ विकेटले पराजित गर्यो । यही श्रृखलामा नेपालले नामिवियालाई दोस्रो पटक पराजित गरेको हो ।
ओपनर कुसल भुर्तेल नौ रनमै गुमाएको नेपालका लागि आशिफ शेख र ज्ञानेन्द्र मल्लले १३९ रनको साझेदारी गरेका थिए । जसमा आशिफले ९८ बलमा ८१ रन र ज्ञानेन्द्रले ७४ बलमा ६५ रन बनाएका थिए ।
त्यसपछि कुशल मल्लले पनि नेपालका लागि अर्धशतक प्रहार गरे । उनले ४९ बलमा ६२ रन बनाए । त्यस्तै, रोहित पौडेलले ३९, सोमपाल कामीले आठ, सन्दीप जोराले तीन तथा दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक एक रन बनाए ।
नामिबियाका लागि रुबेन ट्रम्पेलमनले तीन, बेनार्ड स्कल्जले दुई र टंगेनी लुंगामेनीले एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले ६ विकेटको क्षतिमा २७४ रन बनाएको थियो । नामिबियाका लागि जेन ग्रिनले ७५ रन बनाए। उनले ६३ बलमा ११ चौका र एक छक्का प्रहार गरे ।
अब नेपालले स्कटल्याण्डसँग दोस्रो खेल खेल्नेछ ।