२६ माघ, कठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय तेस्रोपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गर्नुभएको छ । आज बिहानै साढे पाँच बजे विमानस्थल पुग्नुभएका मन्त्री किरातीले विमानस्थलमा क्रमिक सुधार भएको छ वा छैन भनेर अनुगमन गर्नुभएको हो । मन्त्री किराँतीले विमानस्थलको व्यवस्थापन उत्कृष्ट बनोस चन्ने चाहनाले निरन्तर अनुगमन र निर्देशन दिने कार्य जारी राखेका हुन् ।
तेस्रोपटक अनुगमनमा पुग्नुभएका उहाँ विमानस्थलको तुलनात्मक सुधारले आफूलाई थोरै भए पनि खुसी मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो नै पूर्ण सुधार होइन । तर, क्रमिक सुधार भएको छ । यसबाट म आंशिक सन्तुष्ट छु । २४ सै घण्टा खटेर एयरपोर्टलाई सुन्दर बनाउने ब्युटिसियनहरुलाई विशेष धन्यवाद छ ।’
एयरपोर्टको शौचालयमा म्युजिक जडान गरिनु, गुनासोका लागि क्युआर कोड संचालनमा ल्याइनुले सेवाग्राहीलाई थोरबहुत सहज बनाउने अपेक्षा समेत मन्त्री किरातीले गर्नुभयो । कर्मचारीले हरेक ३० मिनेटमा शौचालय अनुगमनको व्यवस्था समेत एयरपोर्टमा गरिएको छ । यसले आफूलाई नभएर सेवाग्राहीलाई सन्तुष्ट बनाउने मन्त्री किरातीले बताउनुभयो । सेवाग्राहीको सहजता नै आफ्नो पहिलो प्राथमिकता रहेको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यहाँ भएका सुधारहरु मेरा लागि होइन । तपाईंहरुको मिहेनत र परिश्रमले सेवाग्राहीलाई सहज वातावरण बनाउनेदेखि हाम्रो एयरपोर्टप्रति उहाँहरुलाई अपनत्व पनि महसुस गराउनेछ ।’
साथै मन्त्री किरातीले पाँच सय ट्रलीको मूल्यंकन गरी आर्थिक प्रस्तावना समेत तयार गर्न निर्देशन दिनुभएको छ । १५ सय चक्का लगायत पार्टस् खरीदका लागि बोलपत्र आह्वान पनि गरिएको छ । बिग्रिएका ट्रलीका चक्का मर्मत समेत भएको छ । सँगै उहाँले सुरक्षा जाँचका लागि स्क्यानरको व्यवस्था गर्न विमानस्थल व्यवस्थापनलाई सुझाव समेत दिनुभएको छ ।