२३ माघ, काठमाडौं । भारतका मोन्टी देशाई नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका छन् । करिब एक महिना लामो प्रक्रिया पूरा गरी युवा तथा खेलकुद मन्त्रालयले मोन्टीलाई नियुक्त गर्न बाटो खोलेको हो ।
राष्ट्रिय खेलकुद परिषद ९राखेप० संघ संस्था समन्वय शाखा प्रमुख चन्द्र राईले युवा तथा खेलकुद मन्त्रालयले पारित गरी आएको पत्र क्यानलाई पठाइसकिएको जानकारी दिए ।
औपचारिक नियुक्ति हुन बाँकी रहे पनि अघिल्लो साताको आइतबारदेखि नै मोन्टीले नेपाल क्रिकेट टिमलाई आनौपचारिक प्रशिक्षण गराइरहेका छन् । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत त्रिवि मैदान कीर्तिपुरमा नामिविया र स्कटल्याण्डसँग त्रिकोणात्मक शृंखला खेल्दैछ ।
लिग टू मा रहेका ७ टिमबीच अन्तिमबाट दोस्रो स्थानमा रहेको नेपालले आसन्न एकदिवशीय विश्वकप छनोटमा स्थान बनाउन तथा एकदिवशीय मान्यता कायम राख्न शृंखलामा अधिकांश खेल जित्नुपर्ने स्थिति छ ।
नेपाल क्रिकेट संघ क्यानको खेलाडी छनोट समितिले २४ पुसमा राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकका लागि आवेदन आह्वान गरेको थियो । एक साताको समयमा आवेदन दिएका २४ जनामध्येबाट सर्टलिष्टमा परेका ५ जनाको ४ माघमा अन्तर्वार्ता लिइएको थियो ।