काठमाडौं माघ २० । ‘के तपाई सेक्स पार्टनर खोज्नु भइरहेको छ, अब ढुक्क बस्नु’ ह्वाट्स एपमा आउने यस्तो म्यासेजमा थप भनिएको हुन्थ्यो,‘नेपाली गर्ल एप इन्स्टल गर्नुस् र सेक्स पार्टनर खोज्नुहोस् ।’ त्यही म्यासेजमा तस्वीर राख्न र फोटो पनि राख्नुस् रेट त्यहीँ छ भन्दै लेखिएको हुन्थ्यो ।
त्यही लोभमा वा अन्य कारणले क्लिक गर्ने दर्जनौँ मानिसको विभिन्न बैंकमा रहेको आधा करोड बढी रकम सो समुहले ठगी गरेको छ । ह्वाट्स एपको यही म्यासेजले धेरैको निन्द्रा खल्बल्याएको छ ।
अपरिचित नम्बरमा नेपाली गर्ल एप्स मार्फत कुरा गरेर मोबाइलको डेटा क्याप्चर गर्ने समूहलाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेर सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार २० जनाको खाताबाट ५१ लाख चोरी भएको छ ।
ललितपुरका एक व्यक्तिको खाताबाट हराएको पैसा खोज्दै जाँदा प्रहरी मुख्य योजनाकार सम्म पुग्न सफल भयो ।
चोरीको मुख्य योजनाकार पर्साको वीरगन्ज महानगरपालिका–२५ घर भएका २८ वर्षीय राज प्रसाद पटेल हुन् । उनलाई वीरगन्ज घर भएका आइटीका जानकार दुईजना युवकले सहयोग गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
वीरगन्जका २० वर्षीय साहिल परबेज र १९ वर्षीय शिवशंकर राउतले ‘नेपाली गर्ल’ नामको एप बनाएका हुन् । सूचना प्रविधि विभागको जिम्मा साहिल परवेज र शिव शंकर राउतले लिएको अनुसन्धानबाट थाहा भएको छ । उनीहरू दुवैले १२ कक्षा पढेका छन् ।
राम ढकालले गुमाएको पैसाबारे अनुसन्धान गर्दै जाँदा प्रहरी पर्साको विन्दबासिनी घर भएर मकवानपुर बस्ने ३३ वर्षीय नगेन्द्र शाह कानु सम्म पुग्यो । नगेन्द्र पत्नीसँग मकवानपुरमा बस्छन् । पत्नीले टेलर चलाउँछिन् ।
नगेन्द्रको बयानका आधारमा अरू ६ जना पक्राउ परेका हुन् । नगेन्द्रको पत्नी २७ वर्षीया रविना चौधरी पनि पक्राउ परेकी छन् । रविनाको बैंक खातामा पनि चोरीको रकम ट्रान्सफर भएको अनुसन्धानबाट थाहा भएको छ ।
मकवानपुरबाट पक्राउ परेका सन्तोष कुँवरले एटिएम मागेर नगेन्द्रलाई दिने गरेका थिए । पक्राउ पर्नेमा भारत घर भएका २९ वर्षीय अवधेश कुमार र सप्तरी घर भएर बौद्ध बस्ने ३४ वर्षीय दिलीप कुमार चौधरी सहित ८ जना छन् ।
अभियुक्त सबैलाई हिरासतमा राखेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।