माघ १७ काठमाण्डौँ । नागरिकता पुनः प्राप्ति गरे लगत्तै गृहमन्त्री हुन दबाब सृजना गरिरहेका रवि लामिछाने बिरुद्ध पासपोर्ट दुरुपयोग मुद्धामा पुनः प्रहरीमा उजुरी परेको छ ।
सर्वोच्चको फैसलाको पूर्ण पाठ आउने बाँकी रहेका बेला नागरिकता प्रकरणमा सर्वोच्चमा मुद्धा हाल्ने सिन्धुलीका युवराजले आज काठमाण्डौँ प्रहरी परिसरमा पुगेर उजुरी दिएका हुन् ।
सर्वोच्चको फैसलाको पूर्ण पाठ आउन बाँकी रहेकाले प्रहरीले उजुरी दर्ता भने गरिसकेको छैन ।
उनलाई तत्काल पक्राउ गरी कारबाही गर्न निवेदकले माग गरेका छन् ।
यसअघि नागरिकतासम्बन्धी मुद्दा पनि युवराजले नै सर्वोच्च अदालतमा दायर गरेका थिए। अदालतले रविको नागरिकता अवैध रहेको भन्दै सांसद र मन्त्री पद पनि खारेज भएको थियो।
रविले २०७० फागुन ९ गते अमेरिकाको नागरिकता लिएका थिए। अमेरिकी पासपोर्टवहाक उल्लेखित रवि लामिछानेले अमेरिकाको नागरिक रहेकै अवस्थामा आफन्त भेट्ने गरी पारिवारिक भिसामा नेपाल आएको बखत सर्वोच्चले अवैध भनेको नागरिकताकै आधारमा राहदानी बनाएका थिए।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २०५० फागुन १० गते जारी १८२२२ नम्बरको पूरानो नागरिकता प्रमाणपत्रकै प्रतिलिपि राहदानी विभागसमक्ष पेश गरी त्यही कायम नरहेको नेपाली नागरिकताको विवरण राखी नेपाली राहदानी लिएर दुरुपयोग गरेको भन्दै अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ।
रविले राहदानी ऐनको प्रचलित व्यवस्था विपरीत जानी जानी झुटो विवरण दिई २०७२ जेठ १३ गते ०८८३४८३८ नम्बरको नेपाली राहदानी लिएका थिए।
‘रवि लामिछानेले नेपाली राहदानी कानूनको बर्खिलाप हुने गरी नेपाली राहदानी समेत लिई दोहोरो राहदानी राख्ने एवम् दोहोरो राहदानी प्रयोग गरेको र तत्काल प्रचलित राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) तथा हाल प्रचलित राहदानी ऐन, २०७६ को दफा २१ को खण्ड (क) ले निषेधित राहदानी सम्बन्धी कसूर गरेको हुनाले कसुरदार निज रवि लामिछानेलाई तत्कालै नियन्त्रणमा लिई उक्त राहदानी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान गरी कानुन बमोजिम मुद्दा चलाई कानुनी कारवाही गरी हदैसम्म सजाय होस् भनी यो जाहेरी दरखास्त पेश गरेको छु’, जाहेरीमा भनिएको छ।
उक्त कसुर अनुसार लामिछानेलाई पाँच वर्षसम्म कैद र हदैसम्म जरिवानासमेत गर्ने गरी कानून बमोजिम मुद्दा चलाउन माग गरिएको छ।
०८८३४८३८ नम्बरको निज कसुरदारको नामको राहदानी राहदानी ऐन बमोजिम रद्द गर्न तथा राहदानीसम्बन्धी कसुरको अनुसन्धान भइरहेको सिलसिलामा निज कसुरदारको नाममा नयाँ राहदानी समेत जारी नगर्ने गरी कसुरको अनुसन्धान तथा कानुनबमोजिम मुद्दाको कारवाही चलाइपाऊँ उनले भनेका छन्।