ओमानलाई हराउँदै इराकले अरेबियन गल्फ कपको उपाधि जितेको छ।
इराकको बसरा अन्तर्राष्ट्रिय रंगशालामा भएको रोमाञ्चक फाइनलमा ओमानको चुनौती ३–२ ले पन्छाउँदै घरेलु टोलीले उपाधि रक्षा गरेको हो।
इराकको जितमा इब्राहिम बायेश, अमजद अत्तवान र मनाफ युनिसले गोल गर्दा ओमानका लागि सलाह अल(याह्याई र ओमार अल मल्कीले गोल गरेका थिए।
खेलको २४ औं मिनेटमा इराकी मिडफिल्डर इब्राहिम बायेशले गोल गर्दै घरेलु टोलीलाई सुरूआती अग्रता दिलाए। यो अग्रता खेल सकिन केही समय अघिसम्म रह्यो। इन्जुरी समयको १० औं मिनेटमा ओमानी मिडफिल्डर सलाह अल(याह्याईले पेनाल्टी किकमा गोल गरेर खेललाई बराबरीमा ल्याउँदै अतिरिक्त समयमा धकेलेका थिए।
अतिरिक्त समयको ११६औं मिनेटमा इराकी मिडफिल्डर अमजद अत्तवानले पेनाल्टीमा गोल गर्दै पुनः अग्रता दिलाए। त्यसको तीन मिनेटपछिनै ओमानी स्ट्राइकर ओमार अल मल्कीले हेडरमा गोल गर्दै रोमाञ्चक बराबरी गरे। तर अतिरिक्त समयको अन्तिममा इन्जुरी समयको पनि अन्तिम मिनेटमा इराकी डिफेन्डर मनाफ युनिसले गोल गरेपछि इराक ३–२ ले विजयी भयो।
यो सँगै इराकले चौथो पटक उपाधि जितेको हो। यसअघि सन् १९७९, १९८४ र १९८८ मा उपाधि जितेको थियो।
ओमानले सन् २००९ र २०१७ मा उपाधि जितेको थियो।
खेलअघि इराकको बसरा अन्तर्राष्ट्रिय रंगशालामा भागदौड मच्चिँदा कम्तीमा चार जनाको मृत्यु भएको थियो । दर्जनभन्दा बढी घाइते भएका छन् ।