आमाले बनाएको बटुक र सेलरोटी खान नपाइ अस्ताइन् एयर होस्टेज सिर्जना

आमाले बनाएको बटुक र सेलरोटी खान नपाइ अस्ताइन् एयर होस्टेज सिर्जना

  • सोमवार, माघ २, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

आइतबार सैनामैनाकी खिमिसरा थापा विमान परिचारिका रहेकी छोरी सिर्जना थापालाई पठाइदिनका लागि पाहुर तयार पार्दै हुनुहुन्थ्यो ।

उनानतीस वर्षीया छोरी सिर्जनालाई मनपर्ने बटुक र सेलरोटी पकाउन उहाँलाई भ्याइनभ्याइ थियो । सोमबार बुहारी सरस्वतीको साथमा छोरीलाई पाहुर पठाउन खिमिसरा बिहानैदेखि सेलरोटी पकाउन व्यस्त हुनुहुन्थ्यो ।

सात वर्षदेखि यती एयरलाइन्समा एयर होस्टेसका रूपमा कार्यरत छोरी चाडबाडका बेलामा पनि घर आउन नभ्याएपछि सोमबार कोसेली लिएर बुहारी सरस्वती काठमाडौँमै पुग्ने तयारीमा हुनुहुन्थ्यो । सिर्जनाको आइतबार दुईवठा हवाइउडानका लागि पालो परेको थियो । बिहान साढे १० बजे काठमाडौँदेखि यतिएयरलाइन्सको एटिआर ७२ जहाजमा पोखरा उडान भर्ने र आइतबारै पोखराबाट काठमाडौँ फर्किएपछि भद्रपुर जाने तालिकाउहाँले शनिबार फोनमा आमा खिमिसरालाई बताउनुभएको थियो ।

माघे सङ्क्रान्तिका दिन रूपन्देहीमा बिहानैदेखि शीतलहर चलेको थियो । अघिल्लो दिन घाम लागे पनि त्यस दिन निकै चिसो र बाक्लो हुस्सु लागेको थियो । यत्तिकैमा बिहान ११ः३० बजेतिर पोखरामा विमान खस्यो भन्ने समाचार जताततै फैलियो । पछि यति एयरकै जहाज खसेको थाहा पाएपछि उहाँलाई पत्याउन कर लाग्यो र सैनामैना नगरपालिका–५ बुद्धनगरमा रहेको सिर्जनाको घरमा पनि रुवावासी सुरु भयो । सिर्जनाका छिमेकी जम्मा हुनथाले सिङ्गो गाउँ नै शोकमा परिणत भयो ।

एक दिन अगाडि फोनमा छोरीसँग घण्टौँ कुरा गर्नुभए खिमिसरालाई त्यो घटना सुरुमा विश्वास गर्न गाह्रो भयो तर केही छिनमै सामाजिक सञ्जाल र मिडियामा नामसहित विवरण आउन थालेपछि खिमिसरालाई पत्याउन कर लाग्यो ।

घटनापछि उहाँको घरमा छिमेकी जम्मा भए । “हिजो फोनमा कुरा गर्दा अलि धेरै बटुक र रोटी पठाइदिनु है ममी भनेकी थिई, आज यस्तो भयो” खिमिसराले भक्कानिँदै भन्नुभयो । ‘बटुक धेरै मनपर्छ, अलि धेरै पठाइदिनु है मम्मी’ भन्ने वाक्य खिमिसराको मनमा अझै गडेर बसेको छ ।

भारतीय सेनाबाट अवकाश प्राप्त बुबा रिमबहादुर र खिमिसराकी छोरी सिर्जनाका साथै तीन छोरा छन् । उनको निधनपछि सैनामैनामा शोकमा रहेका आफन्त, छिमेकी र स्थानीय जनप्रतिनिधिले खिमिसरा र परिवारका अन्य सदस्यलाई सान्त्वना दिने काम गरिरहेको वडाध्यक्ष धनप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्लस–टुसम्म सैनामैनाकै सिद्धार्थ मेमोरियल एकेडेमीमा अध्ययनरत सिर्जनाले बुटवलको क्रिमसन कलेज अफ टेक्नोलोजीबाट स्नातक तहसम्म अध्ययन पूरा गरी बुटवलकै सहारा एकेडेमीबाट एयर होस्टेस तालिम लिएर २०७२ सालदेखि यती एयरलाइन्समा काम गर्नुभएको थियो । आइतबार बिहान १०ः३२ मा काठमाडौँबाट उडेको यती एयरलाइन्सको जहाज पोखरा महानगरपालिका–१५ नयाँ गाउँस्थित सेती नदीको खोँचमा दुर्घटना भएको हो । विमानमा ६८ यात्रु र चालकदलका चार सदस्यसहित ७२ जना थिए । दुर्घटनामा सबैको मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी