मंसीर २९ काठमाण्डौँ । फुटवलमा उदीयमान शक्तिको रुपमा परिचय बनाएको मोरक्कोलाई पाखा लगाँउदै फ्रान्स फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। आज विहान सम्पन्न दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २ ० गोल अन्तरले हराउँदै साबिक विजेता फ्रान्स फाइनलमा पुगेको हो।
फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्डल कोलो मुआनीले गोल गरे। खेलको सुरुवातमै पहिलो गोल गरेको फ्रान्सले दोस्रो गोल दोस्रो हाफको अन्तिमतिर थपेको थियो। पाँचौं मिनेटमै हर्नान्डेजले गोल गर्दै फ्रान्सले अग्रता लियो। हर्नान्डेजले डिबक्स भित्र प्राप्त रिवाउन्ड बलमा उत्कृष्ट गोल गरे। फ्रान्सले दोस्रो गोल ७९औं मिनेटमा थपेको थियो।
तर मोरक्कोले अधिकांश समय बल नियन्त्रणमा राख्दै गोल गर्ने थुप्रो अवसर सृजना गरे पनि उ सफल हुन सकेन ।
फ्रान्सले क्वाटरफाइनलमा इङ्गल्यान्डलाई २–१ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । त्यस्तै पहिलोपटक सेमिफाइनलमा पुगेको अफ्रिकन राष्ट्र मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगललाई १–० गोलले हराएको थियो ।
उत्कृष्ट लयमा रहेको फ्रान्सले अब फाईनलमा उपाधीका लागि अर्जेन्टिनासँग भिड्ने छ ।