२४ मंसिर, काठमाडौं । पाँच पटक विश्व विश्वकप जितेको ब्राजिल यस पटक क्वार्टरफाईनलबाटै बाहिरिएको छ ।
तुलनात्मक रुपले कमजोर क्रोएसियासँग पेनाल्टी सुटआउटमा स्तब्ध हुँदै ब्राजिल कतार विश्वकपबाट बाहिरिएको छ । शुक्रबार राति कतारको एजुकेसन सिटी रंगशालामा क्रोएसिया पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले टोली स्तव्ध बन्यो ।
निर्धारित ९० मिनेटको खेल गोलरहित र त्यसपछि अतिरिक्त समयमा पनि १–१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।
अतिरिक्त समयमा नेयमारले उत्कृष्ट गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए तर त्यसलाई जोगाउन नसक्दा ब्राजिल अभागी सावित भयो । त्यसको अन्त्यतिर करीब ४ मिनेटको खेल बाँकी छँदा क्रोएसियाले बराबरी गोल फर्कायो । त्यसपछि पेनाल्टी सुट आउटमा ब्राजिल कमजोर सावित हुन पुग्यो । पराजयपछि मैदानमा खेलाडीहरु स्तव्ध बनेका थिए ।
२००२ मा पछिल्लो पटक जित हासिल गरेपछि उपाधिविहीन हुँदै आएको ब्राजिल २० वर्षपछि उपाधि पुनः कब्जा गर्ने योजनामा थियो । तर पेनाल्टीमा ब्राजिल अभागी सावित भयो ।