१६ मंसिर, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित श्रृंखलामा नेपालले आज नामिबियासँग पहिलो खेल खेल्दैछ ।
नेपाल र नामिबियाबीचको खेल नेपाली सयम अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।
नियमित कप्तान सन्दीप लामिछाने जेलमा रहेका बेला यस पटक रोहित पौडेलले राष्ट्रिय टोलीको कप्तानी सम्हाल्दैछन् ।
नेपालको प्रशिक्षक मनोज प्रभाकरको आगमनपछि नेपालले लिग टुमा पहिलो शृंखला खेल्न लागेको हो ।
विन्डहोकमा हुने खेलमा नेपाल घरेलु टोली नामिबिया विरुद्ध ओडिआईमा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ ।
पछिल्लो पटक नेपाल, नामिबिया र स्कटल्याण्ड नै सहभागी शृखंला जुलाईमा स्कटल्याण्डमा भएको थियो ।
नामिबिया २७ खेलबाट ३२ अंकसहित चौथो स्थानमा छ भने २० खेलबाट नेपालको १७ अंक सहित छैटौं स्थानमा छ । स्कटल्याण्ड २९ खेलबाट ४२ अंकसहित दोस्रो स्थानमा छ ।
लिग टुमा शीर्ष तीनमा रहँदै ग्लोबल क्वालिफाइरमा पुग्ने हो भने नेपालका लागि अहिलेको र बाँकी सबै शृंखला महत्वपूर्ण छ । त्यसैले नेपालले नामिबियामा सकेसम्म धेरै खेल जित्नुपर्नेछ ।