धरान उपमहागनरपालिकाले एक करोड रुपैयाँ बढी रकम खर्चेर डोजर, रोलर र एउटा ट्याक्टर खरिद गरेको छ।
सडक मर्मत सम्भार गर्न तथा ग्रामिण क्षेत्रमा नयाँ ट्रयाक खोल्न भन्दै उपमहानगरपालिकाले ती मेशिन खरिद गरेको हो। डोजर र ट्याक्टरको लागि गएको नगरसभाले नै बजेट विनियोजन गरेको थियो भने रोलरको पनि आवश्यकता महशुस भएपछि मर्मत कोषको बजेटबाट खरिद गरिएको हो । मेयर हर्क साम्पाङले आफू चढ्ने गाडी बेचेर रोलर किन्ने घोषणा समेत गरेका थिए। तर कानुनी रुपमा गाडी बेच्न नमिल्ने भएपछि कोषबाट ती उपकरण किनिएको हो ।
धरानको फोहोरलाई खोला किनारमा डम्पिङ गर्दा, बेला बेला पुर्न र खोला च्यानलिङलगायत काममा सधै डोजर र ट्याक्टर आवश्यक पर्छ। अहिलेसम्म भाडामा चलाइरहँदा धेरै खर्च लाग्ने र समयमा ती मेशिन पनि उपब्ध नहुँदा धेरै समस्या भइरहेको थियो।
यस्तै, धरानको ग्रामिण क्षेत्रमा बाटो बनाउन र सहरी क्षेत्रमा पनि खाल्डाखुल्डी परेको सडक मर्मत गर्न रोलर आवश्यकता देखिएपछि खरिद गरिएको उपमहानगरले जनाएको छ ।
धरानमा जिते लगत्तै हर्कले खोलानाला ठेक्का बन्द गरेका छन् भने अब मर्मत र निर्माणको काम पनि नगरले नै गर्ने गरी अघि बढाएका छन् ।