मंसीर ११ एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् ।
पहिलो खेलमा जापान र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । जापान दोस्रो जितको खोजीमा हुनेछ । कोस्टारिका भने पहिलो जितको खोजीमा हुनेछ ।
त्यस्तै दोस्रो खेलमा समूह ‘एफ’का बेल्जियम र मोरक्कोबीच भीडन्त हुनेछ । उक्त खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा क्यानडालाई १–० गोलअन्तरले पराजित गर्दै बेल्जियम विजयी भएको थियो ।
पहिलो खेलमा मोरक्कोले क्रोएसियासँग गोलरहित बराबरी खेलेको थियो ।
विश्वकपअन्तर्गत आजै हुने तेस्रो खेलमा क्रोएसिया र क्यानडाबीच भीडन्त हुनेछ । समूह ‘एफ’का क्रोएसिया र क्यानडाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । क्रोएसिया र क्यानडा पहिलो जितको खोजीमा रहेका छन् ।
यसै गरी आजै राति स्पेन र जर्मनबीच खेल हुनेछ । आजको खेलमा पराजीत भए जर्मन घर फर्कन बाध्य हुनेछ । जर्मनी यस अघि जापानसँग स्तव्ध भएको थियो । स्पेनले भने कोष्टारीकालाई ७–०ले हराएर समुहको शीर्ष स्थानमा छ ।