डेढ घण्टा हिँडेर विद्यालय जान बाध्य विद्यार्थी

डेढ घण्टा हिँडेर विद्यालय जान बाध्य विद्यार्थी

  • शुक्रबार, मंसिर २, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

रामपुर (पाल्पा), २ मङ्सिर । निस्दी गाउँपालिका–४ भिरपानीका राजकुमार परियार गौरीशंकर मावि मित्यालमा कक्षा १० मा अध्ययन गर्नुहुन्छ । उहाँ गाउँदेखि करिब डेढ घण्टा बढीको पैदल हिँडेर विद्यालय पुग्नुपर्दा समस्या भएको गुनासो पोख्नुहुन्छ ।

गाउँमै मावि तहसम्मको विद्यालय नभएपछि डेढ घण्टाभन्दा बढी (एकतर्फी) हिँडेर स्कुल पुग्न उहाँलाई सहज छैन । गाउँमै रहेको गोरखनाथ आधारभूत विद्यालयमा कक्षा ८ सम्मको शिक्षा लिनुभएका उहाँ कक्षा ९ देखि माथिल्लो तहको शिक्षा लिन दैनिक डेढ घण्टा हिँड्नुहुन्छ । दैनिक आउन जान गरेर तीन घण्टा पैदलमै खर्चिनुपर्दा विद्यालय समयबाहेक अन्य समय पढाइमा खर्चन नपाएको विद्यार्थी परियारको गुनासो छ ।

“गाउँमा मावि तहसम्म पढ्ने विद्यालय या टाढाको विद्यालयमा जान स्कुल बसको व्यवस्था भए सहज हुन्थ्यो”, उहाँले भन्नुभयो, “लामो समय हिँडेर विद्यालय पुग्दा थकाइ लाग्छ र पढाइमा धेरै समय दिन सकिँदैन, गाउँमै सहजरूपमा पढ्ने व्यवस्था हुनुप¥यो” ।

उहाँ घरबाट बिहान ८ बजे निस्कने र ४ बजे स्कुल छुट्टी भएर साँझ ६ बजे मात्रै घरमा पुग्नुहुन्छ । ट्युसन पढ्ने समयमा बिहान ५ बजे नै घरबाट निस्कनुपर्दा जाडोयाममा विद्यालय पुग्न गाउँको बाटो, जङ्गली जनावरको भय र जोखिम मोलेर जानुपरेको उहाँले बताउनुभयो । आधारभूत तहको शिक्षा गाउँमै पढ्ने व्यवस्था भए पनि माथिल्लो तहको शिक्षा लिन यहाँका विद्यार्थीलाई अन्यत्र घण्टौँ हिडेर जानुपर्दा निकै समस्या छ ।

भिरपानीमा आधारभूत तहसम्म अध्ययन सकाएपछि यहाँका विद्यार्थीलाई माथिल्लो तहको शिक्षा लिन निकै पिरलो पर्छ । यहाँका विद्यार्थी मित्यालको गौरीशंकर मावि र धिर्जेमा रहेको जनप्रिय माविमा दैनिक डेढदेखि दुई घण्टा हिँडेर पढ्न जाने गरेको जनकल्याण आधारभूत विद्यालय खोप्लाकका शिक्षक धनबहादुर ठाडाले बताउनुभयो ।

“भिरपानी र धिर्जे दुई ठाउँमै बसोबास गर्ने परिवारका बालबालिका आधारभूत तह उत्र्तीण पश्चात् तल बेँसीमा झरेर पढ्ने गर्छन्, बेँसीमा बसोबास नहुने बालबालिका गौरीशंकर माविमै अध्ययनका लागि पुग्दछन्”, उहाँले भन्नुभयो ।

भिरपानीकै शर्मिला जर्घा गौरीशंकर माविमै कक्षा १२ मा अध्ययनरत छात्रा हुनुहुन्छ । गाउँका करिब एक दर्जन बढी विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि डेढ घण्टाभन्दा बढीको बाटो हिँडेर विद्यालय पुग्ने गरेको उहाँ बताउनुहुन्छ । आधारभूत तहसम्मको शिक्षा गाउँमै लिनुभएकी उहाँ कक्षा ९ र १० सम्मको शिक्षा तल बेँसीमा रहेको जनप्रिय माविमा लिएको बताउनुहुन्छ ।

“गाउँमा राम्रो पढ्ने विद्यालय नहुँदा हामीले विभिन्न विद्यालयमा धाउनुपरेको छ, किताब कापी बोकेर दैनिक घण्टौँ समय लगाएर विद्यालय गई घर फर्कंदा थकाइले पढाएको कुरा नै झट्ट सम्झन सकिँदैन, हामीलाई गाउँमै बसेर पढ्ने वातावरण सम्बन्धित निकायले मिलाइदिनुप¥यो”, उहाँले भन्नुभयो ।

घरमा कहिलेकाहीँ कामको चटारो हुँदा सहयोग गर्नुपर्ने अवस्थामा टाढा विद्यालय भएकाले कक्षा छाडेर बस्नुपर्ने बताउनुहुन्छ, कक्षा १२ मा अध्ययनरत अस्मिता सोमै । विद्यालय टाढा हुँदा सधैँ विद्यालय आउने जाने कुराले नै चिन्तित बनाउने गरेको तिलमाया दर्जीको गुनासो छ ।

पढेर ठूलो मान्छे बन्ने सुन्दर सपना बोकेका विद्यार्थीहरू गाउँमै व्यवस्थितरूपमा उच्च शिक्षामा राज्यले लगानी गरिदिए विद्यालय आउनजान लाग्ने समय पढाइमा खर्च गर्न पाउने बताउँछन् ।

निस्दी गाउँपालिकाका शिक्षा शाखा प्रमुख नरबहादुर थापाले कक्षा थप गर्ने कुरा उठिरहे पनि ग्रामीण भेगमा विद्यार्थी सङ्ख्या न्यून हुने भएकाले प्रक्रिया अगाडि बढ्न नसकेको बताउनुहुन्छ । उहाँका अनुसार निस्दीभित्रका विद्यालयमा चलेका ९ देखि १२ कक्षासम्म न्यूनतम १८ देखि बढीमा ४० जनासम्म मात्रै विद्यार्थी भर्ना हुने गरेका छन् ।

निस्दीकै वडा नं १ मा रहेको एकमात्र मावि तहको विद्यालय राधाकृष्ण माविमा भोटाहा क्षेत्रका विद्यार्थी करिब डेढ घण्टा, २ को अंशुबर्मा मावि र बालहित माविमा सेरडाँडाका विद्यार्थी करिब ४५ मिनेट, वडा नं ४ को गौरीशंकर माविमा भिरपानी, लामेदमार, मुढाबास क्षेत्रका विद्यार्थी डेढदेखि दुई घण्टाको दूरी हिँडेर विद्यालय जान बाध्य छन् । निस्दी गाउँपालिकामा माविस्तरीय १२, आधारभूतस्तरीय १३ र प्राविस्तरीय २८ गरी जम्मा ५३ वटा सामुदायिक विद्यालय छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी