रूपन्देहीलाई शैक्षिक हवको योजनाः यस्ता छन् पूर्वअर्थमन्त्रीका शैक्षिक एजेन्डा

रूपन्देहीलाई शैक्षिक हवको योजनाः यस्ता छन् पूर्वअर्थमन्त्रीका शैक्षिक एजेन्डा

  • बुधबार, कार्तिक ३०, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

बुटवल, ३० कात्तिक ।  रुपन्देहीलाई मुलुककै शैक्षिक हबमा विकास गर्ने र अन्तर्राष्ट्रिय जगतबाट विद्यार्थी पढ्न आउने शैक्षिक वातावरण तयार पार्नेगरी पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले शैक्षिक एजेन्डालाई अघि सारेका छन् । भौतिक पूर्वाधारको विकाससँगै अबको यात्रा मानवीय विकास र रोजगार सिर्जनामा केन्द्रित हुने बताएका उनले प्राविधिक शिक्षालाई प्राथमिकतासाथ अघि सारेका हुन् ।

रुपन्देहीको तिलोत्तमा-१ मा तत्कालीन अर्थमन्त्री पौडेलले सरकारी मेडिकल कलेज स्थापनाको अवधारणा अघि सारेका थिए । तत्कालीन समयमै वरिष्ठ चिकित्सक डा. सरोज ओझाको संयोजकत्वमा गठित प्रारम्भिक अध्ययन समितिले प्रस्ताव गरिएको जग्गा कलेज स्थापनाका लागि उपयुक्त रहेको ठहर गर्दै शिक्षा मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो । त्यही प्रतिवेदनलाई कार्यान्वयन गराउन पौडेलले लविङ गरेका थिए । त्यसपछि तिलोत्ततमा मेडिकल कलेज स्थापना कार्य सुरु भएको थियो । अहिले सरकारी मेडिकल कलेजको डिपीआर तयार भइसकेको छ ।

तिलोत्तमा नगरपालिकाका वडानम्बर १ र ८ मा पर्ने शंकरनगर सामुदायिक वन र करहिया सामुदायिक वनको दुई सय बिघा जग्गामा मेडिकल कलेज बन्नेछ । गुरुयोजनाअनुसार एक हजार बेडको अस्पताल बन्नेछ । सुरुमा तीन सय बेडको हुने र क्रमश: एक हजार बेडको अस्पताल बन्नेछ । बुटवल मेडिकल कलेजको ८ चैत २०७५ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले तिलोत्तमामा कार्यालयको उद्घाटन गरेका थिए ।

आगामी ४ मंसिरको निर्वाचनका लागि रुपन्देही २ बाट उम्मेदवार एमालेका उपाध्यक्षा विष्णु पौडेलले अब मानवीय विकासमा केन्द्रित हुने बताउँदै आएका छन् । शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखेर रुपन्देहीको विकास अघि बढ्ने बताउँदै आएका उनले आफ्नो चुनावी प्रतिबद्धतामा समेत रुपन्देहीको शिक्षामा विभिन्न योजना प्रस्तुत गरेका छन् । तिलोत्तमामा स्थापना गरिने मेडिकल कलेजका लागि अन्तर्राष्ट्रियस्तरको पूर्वाधार निर्माण गरी स्वास्थ्य विज्ञानका सबै प्रमुख विषयमा स्नातक, स्नातकोत्तर एवं विद्यावारिधि तहका कक्षा सञ्चालन गर्ने अस्पताललाई सुविधा सम्पन्न विशिष्टिकृत अस्पतालको रूपमा सञ्चालन गर्ने उनको संकल्प रहेको छ ।

यसैगरी रुपन्देहीको तामनगस्थित कोरिया नेपाल बहुप्राविधिक शिक्षालय (केएनपिआई) लाई मुलुककै उत्कृष्ट प्राविधिक एवं व्यावसायिक शिक्षा प्रदान गर्ने नमुना शिक्षालयमा विकास गर्ने र त्यहाँबाट वार्षिक रूपमा रोजगारी र स्वरोजगारीमा संलग्न हुन सक्ने हजारौं विद्यार्थी उत्पादन गर्ने लक्ष्य लिइएको छ । यस क्षेत्रका विद्यार्थीहरूलाई अवस्थाअनुसार निःशुल्क तथा सहुलियतमा पढ्न पाउने व्यवस्था गर्ने प्रतिबद्धतामा उल्लेख छ । बुटवलको टेक्निकल इन्स्टिच्युट (बिटिआई) मा हाल सञ्चालित प्राविधिक एवं व्यावसायिक कक्षाको विषय एवं दायरा विस्तार गर्नुका साथै यस इन्स्टिच्युटलाई इन्जिनियरिङ कलेजमा स्तरोन्नति गर्ने संकल्प पौडेलले गरेका छन् ।

देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि केन्द्रीय क्याम्पस, प्रशासनिक भवन र अन्य संरचना निर्माण गरी यसलाई बहुविषयक विश्वविद्यालयमा विकसित गरी पूर्ण क्ष्मताका साथ सञ्चालनमा ल्याउने योजना प्रस्तुत गरिएका छ । रुपन्देहीकै नयाँगाउँस्थित बुटवल सिटी कलेजको पूर्वाधार निर्माण सम्पन्न गरी लुम्बिनी बौद्ध विश्वविद्यालयको उत्कृष्ट आंगिक क्याम्पसमा स्तरोन्नति गर्ने पौडेलको प्रतिबद्धता पत्रमा उल्लेख छ । बुटवल बहुमुखी क्याम्पसको गुरुयोजना तयार पारी तदनुरुपको पूर्वाधार निर्माण गरी शैक्षिक गुणस्तरमा सुधार ल्याउने, आवश्यक पूर्वाधारसहित लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालयमा स्तरोन्नति गरी विज्ञान प्रविधि संकाय थप गर्ने योजना अघि सारिएको छ ।

विभिन्न १४ वटा बुँदामा समेटेर समग्र रुपन्देहीको शिक्षामा मुहार फेर्नेगरी पौडेलले प्रस्तु गरेका प्रतिवद्धतामा विद्याय जाने उमेर समूहका सबै बालबालिकालाई निःशुल्क रूपमा विद्यालयमा शिक्षा प्रदान गर्ने वातावरणको सिर्जना गर्न भर्ना अभियान प्रभावकारी रूपमा सञ्चालन गर्ने र बिचमा पढाइ छाड्ने प्रवृत्तिको न्यूनीकरण गर्ने उल्लेख गरिएको छ । सम्पूर्ण सामुदायिक विद्यालयहरुमा आवश्यकताअनुरूप सुविधासम्पन्न कक्षाकोठा, पुस्तकालय, लैंगिक मैत्री शौचालय, अपांगमैत्री संरचना, विज्ञान तथा कम्प्युटर प्रयोगशाला, प्रारम्भिक बालविकास केन्द्र, खेलमैदानसहितका संरचना निर्माणलाई एमाले उपाध्यक्ष पौडेलले जोड दिएका छन् ।

सामुदयिक विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालय शिक्षा सुधार कार्ययोजना तयार पारी कार्यान्वयन गर्ने, अध्ययनका लागि विदेश जाने तथा ठूलो मात्रामा देशको सम्पत्ति विदेशिने अवस्था रोक्न र यस क्षेत्रलाई गुणस्तरीय शैक्षिक केन्द्रमा विकास गर्न संस्थागत विद्यालय तथा क्याम्पसहरूले खेलेको भूमिका र योगदानलाई सम्मान गरी गुणस्तरीय शिक्षाका लागि प्रोत्साहन, सहजीकरण र संरक्षण गर्ने उनले बताएका छन् । माध्यमिक तहका सामुदायिक एवं संस्थागत विद्यालयहरुले कम्तिमा एउटा विषयमा प्राविधिक तथा व्यावसायिक शिक्षा प्रदान गर्न पाउने व्यवस्था गर्ने प्रतिवद्धता छ ।

रुपन्देहीको राममणी बहुमुखी क्याम्पस, शंकरनगर बहुमुखी क्याम्पस, पार्रोहा बहुमुखी क्याम्पस, सिद्धार्थ गौतम बुद्ध क्याम्पस, बुटवल कालिका क्याम्पस र सरस्वती संस्कृत विद्यापीठको पूर्वाधार निर्माणका साथै शैक्षिक गुणस्तरमा सुधार गर्ने लक्ष्य प्रस्तुत गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी