कार्तिक ३ पोखरा । नवौं राष्ट्रिय खेलकुदमा खेलकै क्रममा दुर्घटनामा परेर मृत्यु भएका खेलाडी निसिम थापालाई मृत्युपर्यन्त मानार्थ स्वर्णपदक दिईएको छ ।
उनको असोज ३० गते प्याराग्लाइडिङ अन्तर्गत क्रसकन्ट्री विधामा प्रतिस्पर्धा गर्दैगर्दा दुर्घटनामा परी निधन भएको थियो ।
हाल पोखरा–१० बस्दै आएका गोरखाका थापा नेपाल आर्मीसँग करारमा अनुबन्ध भएर नवौं राष्ट्रिय खेलकुदमा सहभागी थिए ।
पोखरा रंगशालामा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले थापाको पदक उनका काका भेनिस थापालाई हस्तान्तरण गरे ।
दुर्घटनापछि प्याराग्लाइडिङ प्रतियोगिता बिचमै रोकिएको थियो । त्यसैले तयारी खेलकै नतिजालाई आधार मानेर विजेता घोषित गरियो ।
जसमा गण्डकी प्रदेश र नेपाल आर्मीले समान ३-३ स्वर्ण पदक हात पारेका हुन् । निसिम सहभागी भएको विधामा आर्मीले रजत पदक जितेको छ ।
विजेता बनेका खेलाडीलाई मन्त्री गहतराजले पोखरा रंगशालामा नै पदक हस्तान्तरण गरेका छन् ।