१० असोज, काठमाडौं । नाबालिका बलात्कार गरेको अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आफूमाथि लागेको झुठो आरोपले मानसिक रुपमा विक्षिप्त भएको र स्वास्थ्य पनि खराब भएकाले आईसोलेसनमै बस्नु परेको भन्दै अब नेपाल फर्कने तरखरमा रहेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा आइतबार राति स्ट्याटस लेख्दै उनले मानसिक तनाव र स्वास्थ्य खराबीका कारण ‘आइसोलेसन’मा बसेको पनि उल्लेख गरेका छन् ।
‘मेरो नाउँमा वारेन्ट जारी भएको समाचार र मविरुद्ध परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रुपमा विक्षिप्त बनायो, के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था रहेन’, उनले भनेका छन्, ‘यी सब कुराले मलाई एकातिर मानसिक असर गर्यो भने अर्कातिर म बिरामी अवस्थाबाट गुज्रिन पर्यो र मानसिक तनाव र स्वास्थ्य खराबीका कारण मलाई आईसोलेसनमा राखेर बसेको छु ।’
उनले पीडितले दिएको जाहेरीलाई ‘झुठा’ उल्लेख गर्दै अपराधीको रुपमा चित्रणले आफूलाई मानसिक र शारीरिक रुपमा प्रभावित पारेको पनि भनेका छन् ।
उनले अगाडि भनेका छन्, ‘स्वास्थ्यमा क्रमिक सुधार आउँछ र जति सक्दो चाँडो नेपाल फर्किएर मविरुद्धको झुठा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु ।’
टी–२० सिरिज खेल्न केन्या गएका लामिछानेले त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमैका गएका थिए । त्यहाँबाट चाँडै फर्किने बताए पनि उनी हाल कहाँ छन् खुलाएका छैनन् । प्रहरीले पनि पत्ता लगाउन सकेको छैन ।
भक्तपुरमा घुमाउन लगेर मध्यराति काठमाडौंस्थित एक होटलमा उनले पटकपटक बलात्कार गरेको भन्दै २१ भदौमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दर्ता भएको थियो ।
तर हालसम्म सम्पर्कविहीन छन् ।